पोखरा । विगतका वर्ष जस्तै यसवर्ष पनि तमु समाज फ्रान्सको आयोजनामा ‘तमु समाज कप २०२५’ सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । “विगत, वर्तमान अनि भविष्यमा सदैव ऐक्यबद्धता, अटुट अनि सुमधुर सम्बन्धको प्रतिबद्धता सहितको फुटबल प्रतियोगिता ” भन्ने मूल नारासहित फुटबलको माध्यमले फ्रान्स अनि युरोपमा रहेका नेपालीहरूबीचको भाइचारा बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको तमु समाज फ्रान्सका अध्यक्ष तक्दीर गुरुङले जानकारी दिए ।
प्रतियोगिता सेप्टेम्बर ७ तारिख (भदौ २२ गते) पेरिसको पार्क डु स्वाजी, ख्रितेइ, पेरिस हुने जनाईएको छ । प्रतियोगितामा प्रथम हुनेले ३ हजार युरोसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने द्वितीय हुने टिमले १५ सय युरोसहित मेडल प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा टप स्कोरर र वेस्ट प्लेयरलाई नगदसहित ट्रफी प्रदान गरिने जनाईएको छ ।
प्रतियोगितामा सहभागिताका लागि २ सेप्टेम्बरसम्म टिम दर्ता गराइसक्नुपर्नेछ भने टिम दर्ताका लागि ४ सय युरो दर्ता शुल्क लाग्ने जनाईएको छ । प्रतियोगिताको टाइसिट भने ५ सेप्टेम्बरमा तमु समाज फ्रान्सको फेसबुक पेजबाट सार्वजनिक गरिने जनाईएको छ ।
फ्रान्समा अनि युरोपमा रहेका नेपालीहरूबीचमा हुन लागेको यस प्रतियोगिता, फ्रान्सको आज सम्मकै सबैभन्दा ठुलो धन राशीको भएको दावी गर्दै अध्यक्ष गुरुङले सहभागिताका लागि सम्पूर्ण युरोपमा रहेका तमु संघ संस्था लगायत सबै समुदायहरुलाई निमन्त्रणा गरेका छन् ि
















