पोखरा । नेपाली काँग्रेस कास्कीले नीतिगत सुधारको लागि नागरिक अभियान सुरु गरेको छ । शुक्रबार नेपाली काँग्रेस कास्कीले पत्रकार सम्मेलन गरेर अभियानको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अभियानका संयोजक गणेशबहादुर थापाले अभियानको ११ वटा बुँदासहित अवधारणापत्र प्रस्तुत गरे । जसमा कर्मचारी मुख्य निसानामा छन् ।
अवधारणापत्रमा उल्लेख भएका बुँदाहरूमा डिजिटल लगबुक, एकद्वार प्रणाली, निवेदन तथा उजुरीको अनलाइन दर्ता, ढिलाई वा लापरबाहीमा क्षतिपूर्ति र दण्ड रहेका छन् । यसैगरी निर्णय तथा खर्च सार्वजनिक गर्ने व्यवस्था, बायोमेट्रिक उपस्थिति र जीपीएस निगरानी, फोन ईमेल सेवाको जवाफदेहीतासमेत अवधारणापत्रमा समावेश छन् । यो पूर्ण रुपमा लागू भएमा नागरिकले सरकारी कार्यालयबाट सहज रुपमा समयमै सेवा प्राप्त गर्ने उनको विश्वास छ ।
संयोजक थापाले सरकारी कार्यालयहरूमा सेवाग्राही र कर्मचारीबीचको सम्बन्ध सुधारका लागि नीतिगत सुधारको अभियान सुरु गरिएको जानकारी दिए । लामो समयको अनुसन्धान र अनुभवबाट अवधारणापत्र तयार पारिएको जनाईएको छ । अभियानलाई नेपाली काँग्रेस कास्की कार्यसमिति बैठकले अनुमोदन र अनुमति प्रदान गरेपश्चात् सञ्चालन गरिएको समेत उनले प्रष्ट पारे । यसलगत्तै अर्को अभियान सुरु गर्ने थापाले उल्लेख गरे ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कास्की काँग्रेसले सञ्चालन गरेको पोखरा कस्तो बनाउने भन्ने अभियानबाट प्राप्त सुझावसँगै विज्ञहरूसँग सल्लाह गरेर अवधारणापत्र निर्माण गरेको बताए । अवधारणापत्रमा उल्लेखित बुँदाहरूको प्रभावकारी कार्यान्वयन गर्न सकेको खण्डमा पार्टीप्रति नागरिकको विश्वास बढ्ने उनले बताए । उनले यो अभियान कास्की काँग्रेसकै भएको बताउँदै उनले उद्यमशीलता, वातावरणीय संरक्षण, स्वरोजगारी सिर्जना लगायत मार्फत नागरिकलाई जोड्दै जाने उनको भनाई छ । यो अभियानमा सामेल हुन र समन्वय गर्न अन्य राजनीतिक दललाई समेत आह्वान गर्ने जनाईएको छ ।












