पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ मा नेपाली प्राचीन शैलीको प्रवेशद्वार, फल्चा र बगैँचा निर्माण गरिएको छ । एक करोड ४० लाखको लागतमा निर्माण गरिएको उक्त संरचनाको शुक्रबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका छन् ।
३० लाख लागतमा निर्माण गरिएको प्रवेशद्वार प्राचीन नेपाली संस्कृतिमा आधारित छ । वडा कार्यालय परिसरमा निर्माणका लागि ६५ लाखको लागतमा पर्खाल लगाइएको छ भने ३० लाख खर्चेर सुन्दर बगैँचा निर्माण गरिएको छ । वडा परिसर भित्रै १५ लाखको लागतमा नेवारी संस्कृतिमा आधारित फल्चा निर्माण गरिएको छ ।

प्रवेशद्वार तथा बगैँचा समुद्घाटन समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरले सीमित साधन स्रोत भएर पनि तीन थरीका भूबनोटलाई ध्यान दिएर विकास निर्माणलाई प्राथमिकता दिएको बताए । उनले महानगरपालिकाले आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन बनाउने क्रममा रहेको बताए । महानगरको वडा नं. ९ र ६ बाहेक ३३ वटै वडाका कार्यालयहरू निर्माण भइसकेको उनले बताए । सङ्घीयताको अभ्यास पछि महानगरपालिका भ्रमणका लागि विदेशबाट आउने पर्यटकहरूलाई वडा नं. १२ को कार्यालय भ्रमणका लागि ल्याउने गरेको बताए ।
मेयर आचार्यले पोखरा महानगरपालिका भित्र पर्ने पञ्चासे लगायत अन्य पर्यटनको सम्भावनायुक्त क्षेत्रहरूको पर्यटन विकासका लागि ७ वटा परियोजना अगाडि बढेको बताए । पोखराको २६ कुरिया क्षेत्रलाई हेरिटेज क्षेत्रका रुपमा विकास गर्ने, जैविक विविधतालाई संरक्षण गर्दै ढेड घण्टामा पञ्चासे पुग्ने गरेर ट्रयाक खोल्ने, शान्तिवनलाई बोटानिकल गार्डेन बनाउने, पोखरामा रहेका ९ वटै ताललाई जोड्नेगरी साइकल ट्रेल बनाउने गरी परियोजना अगाडि बढेको उनको भनाई छ । मेयर आचार्यले देशका ७ सय ५३ पालिका मध्ये विदेशी दातृनिकायको सहयोगमा ३३ अर्बभन्दा बढि सहयोगमा परियोजना सुरु गर्ने पोखरा महानगरपालिका पहिलो पालिका भएको दावी गरे ।

पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले वडाले निर्माण गरेको संरचनाहरू केवल संरचना मात्र नभई संस्कृति, मौलिकतासँग जोडिएको जिउँदो उदाहरण रहेको बताए । विदेशी संस्कृतिको प्रभावले राजनीति, शिक्षा, परम्परागत मूल्य मान्यता, संस्कृति र मौलिकतामा असर पारेको अध्यक्ष बास्तोलाले बताए । उनले भौतिक संरचनामा पनि आधुनिकताको नाममा मौलिकता हराउँदै गएको बताउँदै मौलिकता जोगाउने उद्देश्यले प्राचीन शैलीमा प्रवेशद्वार, बगैँचा, फल्चा र पर्खाल निर्माण गरिएको बताए ।
कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष बलबहादुर कार्की र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेम प्रसाद आचार्यले बोलेका थिए । कार्यक्रममा स्वागत वडा सदस्य शान्त बहादुर थापाले गरेका थिए भने वडा सचिव शारदा सापकोटाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
















