पोखरा । नाटक ‘पीडा गीत’ पोखरामा मञ्चन हुने भएको छ । खगेन्द्र लामिछानेद्वारा लिखित यो नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुन लागेको हो । नाटकलाई रङ्गकर्मी चे शंकरले निर्देशन गर्दैछन् । सन् २०१२ मा ‘इलुजन’ नाटक निर्देशन गरी नाट्य क्षेत्रमा डेब्यु गरेका चे शंकरले हालसम्म दुई दर्जन बढी नाटक निर्देशन गरिसकेका छन् । उनको निर्देशनमा यस अगाडि पोखरामा ‘उ मरेकी छैन’ र ‘तिर्खा’ नाटक मञ्चन भएको थियो ।
‘पीडा गीत’ साउन १६ र १७ गते गरेर दुई दिनमा कुल तीन सो मार्फत मञ्चन हुनेछ । जसको लागि सम्पूर्ण तयारी पुरा भएको निर्देशक चे शंकरले कोटखरलाई जानकारी दिए । उनी नाटक मञ्चनलाई लिएर उत्साहित छन् ।
गार्डेन थिएटर कम्युनिटीको प्रस्तुतिमा मञ्चन हुने नेपालमा द्वन्द्वकालको समयमा नागरिकले ब्यहोर्नुपरेको पहिचानको सङ्कट र व्यक्तिगत समस्यालाई देखाउन खोजिएको छ । करिब ५५ मिनेट अवधिको नाटक शुक्रबार र शनिबार साँझ साढे पाँच बजे मञ्चन हुनेछ । यसका अलावा शनिबार दिउँसो एक बजे समेत यो नाटक हेर्न पाइनेछ ।

यो नाटक यसअघि लेखक खगेन्द्र लामिछानेले गुरुकुलमा मात्र नभएर थाइल्याण्ड लगायतका ठाउँमा मञ्चन गरेका थिए । केही समय अगाडि काठमाण्डौमा समेत यो नाटक मञ्चन आफूहरूले गरेको निर्देशक शंकरले बताए । पोखरामा भने केही फरक शैली र प्रयोगमा नाटक मञ्चन गर्न लागिएको उनले खुलाए ।
अहिले हामी सबैले सोध्नुपर्ने प्रश्न यसले उठाएकोले हेर्नुपर्नेमा उनको जोड छ । गार्डेन थिएटर कम्युनिटीले काठमाण्डौको पुल्चोकमा रहेर इन्डिपेन्डेन्ट रुपमा काम गर्न चाहने आर्टिस्टहरूसँग काम गरिरहेको छ । यसले अहिले स्टुडियो बेस प्रोडक्सनहरू लगायतका विभिन्न कार्य मार्फत नाट्य क्षेत्रमा सक्रियता बढाइरहेको उनले जनाए ।
पोखरामा मञ्चन हुन लागेको यो नाटकमा रोशन ज्ञवालीको अभिनय हेर्न पाइनेछ । उनी यस नाटकलाई लिएर उत्साहित छन् । दर्शकको माया पाउनको लागि उनले मेहनत गरेका छन् । यसअगाडि रोशनले विभिन्न नाटक मार्फत आफ्नो अभिनय कौशलता देखाइसकेका छन् ।
रोशनको अभिनय र कथा समेतका कारण समेत नाटक हेर्नुपर्ने भन्दै सबैलाई मञ्चन कार्यक्रममा सहभागी बनेर साथ दिन निर्देशक शंकरको आग्रह छ । नाटक मञ्चनकै अवसरमा चित्रकार सुनिल सिग्देलका कलाकृतिहरू समेत दर्शकले हेर्न पाउनेछन् ।
















