पोखरा । हुन्डी कारोबार गरेको आरोपमा तीन जना पोखरामा पक्राउ परेका छन् । उनीहरू झण्डै ७६ लाख नगदसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१३, हाटबजारका महमुदिन एम अहमद, झापा दमक नगरपालिका ४ घर भई हाल पोखरा ६, बैदाम बस्ने राजकुमार बुढाथोकी र पोखरा १९  पुरनचौरका खेमराज पौडेल छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उनीहरूको साथबाट ७५ लाख ९६ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा बरामद गरेको जानकारी गराएको हो । उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ४ हजार युरो र ४४ लाख ८ हजार नेपाली नोट बरामद भएको हो । पक्राउ परेकाहरू लामो समयदेखि सङ्गठित रूपमा अवैध विदेशी मुद्राको कारोबारमा संलग्न रहेको खुलेको कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

 राजकुमार विगत २० वर्षदेखि र खेमराज पौडेल विगत १४ वर्षदेखि मनि एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध सटही कारोबारमा संलग्न रहेको देखिएको  प्रहरीले जनाएको छ । श्रावण १० गते शनिबार साँझ ५ बजेतिरको समयमा पोखरा १७ पार्दी बिरौटामा अवैध रुपमा विदेशी विनिमय कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । सबैजनालाई राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैङ्कबाट इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइने ओलियाले बताए । 

राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम कसुर प्रमाणित भएमा बिगो जफत हुनेछ । साथमा बिगोको तीनगुणा जरिवाना वा सात वर्ष कैद हुन सक्ने ओलियाले बताए । यो घटनाका विषयमा थप अनुसन्धान भैरहेको उनले जनाए ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0