पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेशले महामानव विपी कोइरालाको ४३ औं स्मृति दिवस एक समारोहका बीच मंगलबार पोखरामा मनाएको छ । कार्यक्रमको नेपाली काँग्रेसका नेता महेश आचार्यले उद्‌घाटन गरे। कार्यक्रममा नेता आचार्यले विचारका पछि नभै गुटका पछि दगुर्ने क्रमले पार्टी सङ्गठन कमजोर बन्ने गरेको बताए ।

 पछिल्लो समयमा विचारका पछि नभै गुटका पछि दगुर्ने प्रवृत्ति बढिरहेको उनको भनाइ छ । गुटप्रतिको दासत्वले काँग्रेस गाँजिएको बताउँदै उनले त्यसबाट माथि उठ्नु जरुरी रहेको धारणा राखे । विपीका निष्ठा, समर्पणबाट वर्तमानमा धेरै सिक्न सकिने बताउँदै उनले सत्ताको मात्रै खेल हुँदा त्यसले राष्ट्रमा दुर्गति निम्त्याउने जिकिर गरे । प्रजातन्त्र नभै राष्ट्रियता बलियो नहुने बताउँदै उनले विपीले देश र जनताको लागि ठूलो बलिदानी गरेको बताए । पछिल्लो समयमा आर्थिक क्षेत्रमा देखिएको गतिहीनताले निराशा छाएको बताउँदै नेता आचार्यले सुशासनसँगै देशभित्र रोजगारीको सिर्जना लगायतका कुरामा ध्यान दिनु जरुरी भएको बताए । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले विपीकै योगदानका कारण वर्तमानमा आफूहरूले अभिव्यक्ति दिनसक्ने स्वतन्त्रता प्राप्त गरेको बताइन्। विपीका आदर्शलाई आत्मसात गर्दै अघि बढ्न सकेमा त्यसबाट राष्ट्रका लागि उचित मार्गनिर्देश हुने उनले बताइन् । नेपाली काँग्रेस कास्कीका पूर्व सभापति एवम् पूर्व मन्त्री यज्ञबहादुर थापाले विपी विचार आफैँमा आदर्श भएको बताउँदै त्यो कहिल्यै नमर्ने बताए । मानिस ब्रेडले हैन ब्रेनले सञ्चालन हुन्छ भन्ने विपीको महान वाणी भित्र ठूलो कुरा लुकेको उनले बताए । ने

पाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीमा अनुशासन जरुरी रहेको धारणा राखे । नेपाली काँग्रेस गण्डकी प्रदेशका का.वा सभापति कल्पना तिवारीले विपी विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उहाँका विचार सबैका लागि अनुकरणीय भएको बताइन् ।

का.वा. सभापति कल्पना तिवारीको सभापतित्व एवम् नेपाली काँग्रेस गण्डकी प्रदेशका सह महामन्त्री कोपिला रानाभाटले सञ्चालन गरेको कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला(मधु), सह महामन्त्री कोपिला रानाभाट, प्रशिक्षण विभाग उपप्रमुख प्रा.डा.कुशुमाकर न्यौपाने, नेपाली काँग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसी, पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान विजुक्क्षे, क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, नेपाल दलित सङ्घ गण्डकीका अध्यक्ष परशुराम वि पोख्रेल, सहकारी विभाग प्रमुख सीता गुुरुङ लगायतले विपी विचारलाई आत्मसात नगर्दा काँग्रेस दिनानुदिन कमजोर बन्दै गएको धारणा राखे । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्र, प्रदेश, स्थानीय तह सहित विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य एवम् प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले बताए । यसैबीच मंगलबार नै नेपाली काँग्रेस पोखरा नगर समिति र लेखनाथ क्षेत्रका वडा समितिहरूले विपी स्मृति दिवसका अवसरमा कार्यक्रम सम्पन्न गरेको पनि बरालले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0