काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज पनि केन्द्रीय सदस्यहरूले बोल्नेक्रम जारी रहनेछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो सोमबारदेखि सुरु भएको बैठक आज मंगलबार पनि जारी रहने पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
गौतमका अनुसार हिजो गण्डकी र सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् । पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको विधान संसोधन सम्बन्धी प्रस्तावमा आज पनि छलफल जारी रहेको छ । आज बाँकी केन्द्रीय सदस्यहरूले सो प्रस्तावमा आफ्नो धारणा राख्ने कार्यसूची छ ।
बैठकमा धारणा राख्नका लागि हरेक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ । पार्टी सचिवालय र पोलिटब्युरो बाहेकका सदस्यहरूले मात्र बैठकमा धारणा राख्न पाउनेछन् । उपल्लो कमिटीले आफ्ना आफ्ना कमिटीमा धारणा राखिसकेकोले यो बैठकमा उनीहरूलाई समय उपलब्ध नगराइएको गौतमले जानकारी दिए ।
हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटघाट, समसामकिय राजनीतिक विषयवस्तु र सकारको एकवर्षे कार्यकालको उपलब्धि बारे बैठकलाई जानकारी गराएका थिए ।
यसैगरी उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटब्युरोबाट पारित भएको विधान संसोधन सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवदेन पेश गर्दै पार्टीमा २८ प्रतिशत सदस्य वृद्धि भएको जानकारी दिएका थिए।
बैठकमा आज बाँकी केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नेछन् । कतिपय केन्द्रीय सदस्यले लिखित रुपमा धारणाहरू बुझाएका छन् । गौतमका अनुसार बैठकपछि समसामयिक प्रस्तावहरू सहितको एक घोषणा पत्र पनि सार्वजनिक गरिनेछ । केन्द्रीय समितिमा बोल्ने अधिकांश वक्ताहरूले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउन नहुने र मिसन ०८४ मा अध्यक्ष ओलीको नेतृत्वमा जाने पार्टीको यस अघिको निर्णय भएकोले त्यसलाई कार्यन्वयन गरेर जानु पर्ने धारणा राखेका छन् । हिजोको बैठकमा धारणा राख्ने ४९ जना मध्ये ४६ जनाले अध्यक्ष ओलीको निरन्तरताको माग गरेका थिए । बैठक बिहान ११ बजे देखि सुरु हुनेछ ।












