पोखरा । खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगितालाई पुम्दी भुम्दीकै उत्सवको रुपमा मनाउन स्थानीयले सुझाव दिएका छन् । पोखरा क्लिक प्रालिको आयोजनामा आउँदो असोज ४ गते पोखरामा हुने उक्त प्रतियोगितालाई पोखरा २२ पुम्दी भुम्दीका स्थानीयले गाउँकै उत्सवको रुपमा मनाउन सुझाव दिएका हुन् ।
मिति घोषणा सहित स्थानीय क्लब, टोल विकास संस्था, जनप्रतिनिधि लगायतका विभिन्न सङ्घ संस्था एवं स्थानीयसँग भएको छलफलका क्रममा सहभागीहरूले अघिल्लो वर्षमा भएका कमीकमजोरी सुधार गर्दै उत्कृष्ट व्यवस्थापनमा जुट्न समेत आग्रह गरेका छन् । पोखराका तीनवटा पर्यटकीय क्षेत्रलाई जोडिएको उक्त खेलकुद प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न आ आफ्नो क्षेत्रबाट भरपूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले भुम्दी भुम्दीको नयाँ पर्यटकीय गन्तव्य कालाबाङ घरेडी बुद्ध पार्कलाई प्रचारप्रसार गर्न उक्त प्रतियोगिता कोशेढुङ्गा सावित हुने बताए। वडामा रहेका २४ वटा टोल विकास संस्था त्यसैगरी विभिन्न क्लब, आमा समूह लगायतको उल्लेख्य सहभागिता गराउन आफूहरूले विशेष पहल गर्ने उनको भनाई छ । पोखरामा पर्यटकको बसाइ अवधि लम्बाउनको लागि पुम्दीभूम्दीमा २७ किलोमिटरको पदमार्ग निर्माण कार्य जारी रहेको उनले बताएका छन् ।
गतवर्ष स्थानीय ठाकुर बरालको विशेष पहलमा ९० लाख र यस वर्ष पद मार्गको लागि करिब ३ करोड बजेट विनियोजन भएको अध्यक्ष बरालले उल्लेख गरेका छन् । विश्व शान्ति स्तूप समितिका सचिव एवं पूर्वप्रधानपञ्च दुर्गा बहादुर गुरुङले उक्त प्रतियोगिता पुम्दीभुम्दीको छुट्टै ब्रान्ड बनेको हुँदा उक्त प्रतियोगितालाई उत्सवको रुपमा मनाउन सुझाव दिएका छन् । पुम्दी भुम्दीमा पर्यटकीय सम्भावना रहेका तारेभिर, फिलिङ्गघारी त्यसैगरी थाप्लेडाँडा लगायतका क्षेत्रको पनि पर्यटन प्रवर्द्धन गर्न आवश्यक भएको उनको भनाई छ ।

पुम्दीकोट कोट विकास समितिका उपाध्यक्ष नरहरि बरालले उक्त प्रतियोगिता गाउँको पहिचानसँग जोडिएको हुँदा आफूहरूले सहयोग गर्नुपर्नेमा जोड दिए । कालाबाङ घरेडी बुद्धपार्क समितिका अध्यक्ष लाल गुरुङ राजले पहिलो संस्करणमा नौ वर्षदेखि ६१ वर्ष उमेर समूहका व्यक्तिहरू समेत सहभागी भएको स्मरण गर्दै आवश्यक मेडिकल टिम सहित स्वयंसेवकहरू पर्याप्त मात्रामा आगामी दिनमा खटाउनु पर्नेमा जोड दिए । भूतपूर्व खेलाडी मञ्चका सदस्य एवं प्राविधिक ओम गुरुङले पुम्दी भुम्दी पर्वतीय दौड प्रतियोगिता अरु प्रतियोगिताहरू भन्दा भिन्न खालको जस्तै अन्नपूर्ण माछापुच्छ्रे र पर्यटकीय गन्तव्य शान्ति स्तुप, पुम्दीकोट र बुद्ध पार्क जोडिएको दौड भएको हुँदा निकै लोभलाग्दो भएको जनाए ।
प्रतियोगितामा प्रथम हुने विजेता धावकलाई रु ३० हजार दोस्रो हुनेलाई १५ हजार तेस्रो हुनेलाई ७ हजार त्यसैगरी पोखरा २२ वडा स्तरिय खुलातर्फ विजेता एकजना महिलातर्फ पुरूष विजेता अर्को १६ वर्ष मुनि उमेर समूहको एकजना र भेट्रान्स ४० वर्षमाथि उमेर समूहका एक एक जनालाई प्रोत्साहन स्वरूप जनही ७ हजार रूपैयाँ प्रदान गरिने छ । प्रतियोगिताका संयोजक एवं प्रालीका अध्यक्ष दिननाथ बराल पहिलो संस्करणको प्रतियोगीताबाट खेलाडी उत्पादन गर्न सफल भएको बताउँदै पुम्दिभुम्दीका स्थानीयको साथ र सहयोगमा थप खेलाडी उत्पादन गर्न सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पोखराका पर्यटन व्यवसायी एवं पत्रकार राजु क्षेत्रीले हाम्रो संस्कारमा पर्यटकीय कल्चर कम भएको हुँदा पर्यटकसँग जोडेर गरिने पर्यटकीय क्रियाकलापहरू मेगा इभेन्टको रुपमा आयोजना गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका वडा नम्बर २२ वडा युवा परिषद्का अध्यक्ष दिनेश बरालले उक्त प्रतियोगितालाई सफल पार्न आवश्यक समन्वय गर्न आफूहरू तयार रहेको बताए । शुक्रराज माविका शिक्षक मिलन गुरुङले गतवर्ष भएका कमी कमजोरीलाई सुधार्दै यसपाली व्यवस्थापनमा चुस्तदुरुस्त बनाउन आग्रह गरे । कार्यक्रममा पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद क्षेत्री, कालिमाटी शान्ति स्तूप टोल विकास संस्थाका अध्यक्ष सुदीप बिक, महेश्वरी माविका शिक्षक सञ्जय बराल लगायतले वोल्दै उक्त कार्यक्रम सफल पार्न सहयोग गर्ने बताए ।
पोखरा क्लिक प्रालिको आयोजना, पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्यमा हुने उक्त प्रतियोगितामा नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र मिडिया पार्टनरको रुपमा सिटीवान टेलिभिजन रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख ८० हजार खर्च हुने व्यवस्थापक सागर सुनारले बताए । अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रमको सञ्चालन पोखरा क्लिक प्रालीका वरिष्ठ संवाददाता असफल गौतमले गरेका थिए ।












