पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार विशेष कार्यक्रम आयोजना गरियो । जहाँ एकै ठाउँमा कविता, गजल, मुक्तक र गीत सुन्ने मात्र नभएर अभिनय समेत हेर्ने अवसर जुरेको थियो । शुक्रबारबाट ‘आमा’ नाटक मञ्चन सुरु गरेको थिएटरले शनिबार कवि तीर्थ श्रेष्ठलाई मञ्चमा उतार्यो ।
थिएटरले केही समयदेखि परिकल्पना गरेको कविताको मञ्चीय प्रस्तुती गर्ने कार्यलाई मूर्तरूप दिनका लागि यो कार्यक्रम आयोजना गरिएको थियो । जुन कार्यक्रमको पहिलो शृङ्खलाको रुपमा कवि श्रेष्ठलाई मञ्चमा उतारियो । उनका सिर्जना सुन्न टिकट काटेर ठूलो सङ्ख्यामा दर्शक पुगेका थिए ।
यि दृश्य देख्दा कवि श्रेष्ठले २०३५ साल माघ २० गतेको सम्झना गरे । जुन समयमा पोखरामा पहिलोपटक टिकटमा मुक्तक सुनाउने कार्यक्रम भएको थियो । त्यतिबेला टिकट बेच्न जाँदा ‘टिकटमा पनि कविता सुन्छ, चिया खुवाउनु हुन्छ, खाजा खुवाउनुहुन्छ भने सुनौला’ भन्ने कुराहरू सुनेका स्मरण उनले गरे ।

३५ साल देखिको त्यो संघर्ष अहिलेसम्मै चलिरहेको उनको भनाइ थियो । त्यतिबेला पोखराले सुरु गरेपछि देशका विभिन्न भागमा टिकटमा साहित्यक गतिविधि सञ्चालन हुने थालेको उनले बताए । त्यसैले त उनले कविताको मञ्चीय प्रस्तुती गर्ने काममा पोखराले अग्रगामी नेतृत्व लिएको दावी गरे ।
पहिलो कार्यक्रममा आफूलाई मञ्चमा उतारिए पनि यस पछाडिका श्रृखलाहरूमा पोखराका उदीयमान कविहरूलाई यो मञ्चमा प्रस्तुत गर्ने वाचा उनले गरे । कमसेकम दुई महिनाको एकचोटी एकजनाले कविता प्रस्तुती गर्ने गरी अगाडि बढ्न लागेको उनले खुलाए ।
कविताले कहिलेकाँही नचिनेकालाई चिनाइदिन्छ, कहिलेकाँही चिनेकालाई नछुन पनि सक्छ भन्दै कविता अरुका निम्ती के हो थाहा नभएपनि आफ्ना लागि आफूसँगको एक हार्दिक संवाद भएको बताए । म कविताले जीवनलाई माया गर्न खोज्छु । कवितामा अन्यायको खिलाफमा आवाज उठाउन चाहन्छु । कवितामा एउटा सभ्य समाजको सिर्जना भएको सपना देख्छु । त्यसका निम्ती कविता लेख्छु । उनले भने ।
प्रविधिका कारण अहिलेका कलाकारलाई खासै मञ्चको आवश्यकता नभएको उनले बताए । सामाजिक सञ्जालमा आफूले लेखेका कविता पोष्ट गरेपछि पढ्ने पाठक र आफूले वाचन गरेर त्यसलाई पोष्ट गर्दा सुन्ने स्रोता पनि भेटिन्छन् । तर एउटा गजबको माहोलमा कविहरूलाई प्रस्तुत गर्ने कोसिस हुनुपर्छ भन्ने एउटा धारणा थियो । जुन धारणा यो कार्यक्रमले पुरा गर्ने विश्वास उनले गरे ।
कार्यक्रममा आफ्नो साहित्य यात्रा र सिर्जनाका बारेमा बेलिविस्तार लगाउदै सिर्जना सुनाएका श्रेष्ठलाई अमृत क्षेत्रीले कविता, सञ्जीव पौडेलले मुत्तक र प्राञ्जलले गजल वाचन गरेर साथ दिएका थिए ।

‘हिउँमा नलेखिएका तीर्थ–पाँच आयामका साथ’ कार्यक्रमलाई स्मरणीय बनाउन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समेत पुगेका थिए । उनले कार्यक्रमको सफलताको शुभकामना दिदै गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोकसंस्कृतिमा सम्पन्न रहेको बताए ।
प्रदेश प्रमुख भट्टले आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ, लोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि हालका सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला लगायतको भूमि गण्डक क्षेत्र भएको स्मरण गरे । पोखरालाई कला र संस्कृतिको मञ्च बनाउन पोखरा थियटरले गरेको कर्मको तारिफ समेत गरे । नाटक, संगीत, नृत्य, कवि गोष्ठी लगायत विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन हुनु महत्वपूर्ण विषय भएको बताए ।
थिएटरमा कवि तीर्थ श्रेष्ठका कवितामा आधारित नाटक ‘आमा’ मञ्चन समेत जारी रहेको छ । नाटकको केही अंश कार्यक्रममा प्रस्तुत गरिएको थियो भने । दिउँसो १ बजे र साँझ ५ बजे गरेर शनिबार दुइ सो नाटक मञ्चन समेत भएको थियो । शुक्रबारबाट मञ्चन भएको नाटकको निर्देशन नारायण न्यौपानेले गरेका छन् । नाट्य लेख समेत उनले नै तयार पारेका हुन् । नाटकमा रमेशबाबु तिमल्सिनाको सह–निर्देशन गरेका छन् ।

साउन १० गतेसम्म हरेक साँझ ५ बजे गन्धर्व नाटकघरमा मञ्चन हुने नाटकमा कृष्टि गुरुङ, अञ्जली शाही, शीतला अधिकारी, सुसन पौडेल, धनकाजी श्रेष्ठ, रमेशबाबु तिमल्सिना, प्रकाश रेग्मी, श्रीकृष्ण भण्डारी, सृष्टि पङ्गेनी, राहुल श्रेष्ठ लगायतको अभिनय हेर्न पाइने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।
सङ्गीत प्रकाश र दृश्य संयोजनको काम परिवर्तनले गरेका छन् । सुपरीवेक्षणमा प्रमिला तुलाचन, कला निर्देशनमा विकास अधिकारी, कोरियोग्राफरमा सरिता मगर, मञ्च व्यवस्थापनमा धनकाजी श्रेष्ठ, ध्वनि तथा प्रकाश परिचालनमा दिल बहादुर थापा र बक्स अफिसमा अस्मित गोदारले सघाएका छन् ।











