पोखरा । चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतियन अटोनोमस प्रिफेक्चरको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । अनुपम प्राकृतिक दृश्य, तिब्बतियन संस्कृति भएको गान्जीमा उच्च स्थानमा रहेका उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जंगलहरू छन् ।

गान्जी तिब्बतियन अटोनोमस प्रिफेक्चर माउन्टेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रम अन्तर्गत गान्जीका तस्बिरहरू बिहीबारबाट पोखराको रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा राखिएका छन् । नेपाल नेशनल पेभेलियन (चाइना)को सहयोगमा राखिएका गान्जीका तस्बिरहरू अबको छ महिनासम्म प्रदर्शनीमा राखिनेछन् ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले  प्रदर्शनी सुरुआत गरिन् । उनले नेपाल र चीनको सम्बन्धलाई यस्ता कार्यक्रमले थप मजबुत पार्ने उल्लेख गरिन् । गान्जी प्रिफेक्चर कमिटी अफ द कम्युनिस्ट पार्टी अफ चाइनाको सेक्रेटरी चेन बोताउले नेपालीहरूलाई गान्जी भ्रमण गर्न निम्तो दिए । उनले भने, ‘नेपाल जस्तै हिमाल, ताल, झरना भएको गान्जी भ्रमणका लागि यहाँहरूलाई निम्तो छ ।’

सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले यथाशक्य संसारभरिका हिमाल, पर्वत र पर्वतारोहणकाबारे जानकारी दिन सक्ने गरी सङ्ग्रहालयमा समृद्ध बनाउँदै लगिने बताइन् । पोखराको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने यो सङ्ग्रहालय वर्षमा दुई लाखभन्दा बढीले भ्रमण गर्ने गरेका छन् । कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय समितिका सदस्य शेषकान्त शर्मा र धर्मराज पन्थीले पनि बोलेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0