पोखरा । उच्च अदालत पोखरामा आर्थिक वर्ष ०८१/०८२ मा ७८ दशमलव शून्य सात प्रतिशत मुद्दा फछर्यौट भएका छन् । बुधबार अदालतले सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर दिएको जानकारी अनुसार यो पछिल्लो ५ वर्षको तुलनामा सबैभन्दा बढी हो ।
अदालतका रजिस्ट्रार खड्गराज अधिकारीले दिएको जानकारी अनुसार यस अदालतमा आ.व. ०७७/०७८ मा ५२ दशमलव ९३ प्रतिशत, आ.व. ०७८/०७९ मा ५१ दशमलव ७४ प्रतिशत, आ.व. ०७९/०८० मा ६२ दशमलव ५९ प्रतिशत,आ.व. ०८०/०८१ मा ५४ दशमलव ४१ प्रतिशत मुद्दा फछर्यौट भएका थिए ।
हाल अदालतमा १८ महिना नाघेका एउटा पनि मुद्दा बाँकी नरहेको उनले बताए। आ.व. ०८०/०८१ बाट लगत सरेर आएका १ हजार ५ सय ९० थान र यस आर्थिक वर्ष दर्ता भएका १ हजार ८ सय ३० वटा गरी ३ हजार ४ सय २० वटामध्ये २ हजार ६ सय ७० थान मुद्दा फछर्यौट भएको रजिस्ट्रार अधिकारीले खुलाए ।
अब आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७ सय ५० थान मुद्दाको लगत सरेको छ । लगत सरेको मुद्दामा १८ महिना भित्रका ३०, एक वर्ष भित्रका १ सय ८६ र ६ महिना भित्रका ५ सय ३४ थान रहेका छन् ।
आर्थिक वर्ष ०८१/०८२ को फछर्यौट लक्ष्यको आधारमा भने १ सय ६ दशमलव ७१ प्रतिशत हो । अदालतले यो वर्ष २ हजार ५ सय २ थान मुद्दा फछर्यौट गर्ने लक्ष्य राखेको थियो । यस अदालतको मेलमिलाप केन्द्र मार्फत यो वर्ष जम्मा ३२ थान मुद्दा मिलापत्र हुन सफल भए । यहाँ २१ जना सुचिकृत मेलमिलापकर्ता रहेका छन् ।
उच्च अदालत पोखराको अभिलेखमा २७ हजार ९ सय ९८ थान मिसिल रहेकोमा हालसम्म डिजिटलाइजेसन भएका मिसिलको संख्या ४ हजार ८ सय ५ रहेको छ ।















