पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य बिमाको सुविधा लिने बिरामीले सास्ती भोग्नु परेको छ । मङ्गलबार बिहान यो सुविधा मार्फत उपचार गराउन खोज्नेलाई सर्भरमा समस्या आएको भन्दै सेवा प्रदान नगर्दा आक्रोशित बने । उनीहरूले अस्पताल प्रशासन विरुद्ध नाराबाजी समेत गर्न थालेपछी अस्पतालमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सोमबार समेत सिस्टम नचलेको भन्दै लाइनमा बसेका सबै सेवाग्राहीले टिकट काट्न नपाएपछि मङ्गलबार बिहान ४ बजेनै लाइनमा बस्दा समेत सर्भर नचलेको भनेर टिकट काट्न नपाउँदा उनीहरु निराश थिए ।
बिमा सुविधा मार्फत अस्पतालमा सेवा लिन पुग्दा पटक पटक समस्या भोग्नु परेको गुनासो समेत उनीहरूले गरे । आर्थिक वर्ष समापन हुन लागेको यो समयमा बिरामी अत्याधिक चाप हुँदाहुँदै बिमा सुविधा मार्फत स्वास्थ्य परिक्षण गर्न नपाएपछि उनीहरूले अस्पताल र बिमा संस्थानको मिलेमतोमा सेवा लिनबाट वञ्चित गराइएको आरोप समेत लगाएका थिए । आक्रोशित बनेका सेवाग्राहीको भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

सिस्टम नचलेपछि सूचना टाँस्नुपर्ने भएपनि अस्पतालले लापरवाही गरेको सेवाग्राहीको भनाइ छ । पैसाको सिस्टम चल्ने तर बिमाको सिस्टम नचल्ने हुनुमा केही न केही चलखेल भएको हुन सक्ने उनीहरूको आरोप थियो । २५ सयको बिमा अहिले ३५ सय पुगेका र ठुलो मूल्यमा औषधि किन्न बिल काट्नुपर्ने अवस्था आउने गरेको समेत उनीहरूको गुनासो थियो । उनीहरूले यस्तो समस्या बारम्बार हुने गरेको मात्र नभएर कर्मचारी तथा डाक्टरले समेत समय र बिरामीको आवश्यकता ख्याल नगर्ने गरेको बताए । सेवामा समस्या आएपछि प्रशासनका मार्फत सेवाग्राहीलाई जानकारी गराउनुपर्नेमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेर सेवाग्राहीलाई तर्साउन खोज्नु निन्दनीय भएको उल्लेख गरे ।
‘लाठी चार्ज गर्न तयार भयो तर उपचार गर्न तयार भएन हामी यसै मर्नुपर्ने भयो’ एक जना सेवाग्राहीले भने । मिर्गौलाको डायलासिस गर्ने बिरामीलाई सेवाबाट वञ्चित गराउनु गलत भएको उनले बताए ।
‘घाँटीको समस्याले हप्ताको एक पटक आउँछु, सिस्टम चलेको छैन भनेर दिनभरी रोकिदिने उपचार बेलामा पाइदैन पीडित छौ’ अर्का सेवाग्राहीले थपे ‘अर्को अस्पतालमा जान्छौ भन्दा रिफर पनि दिदैनन् ।’
‘केही दिन अगाडि आउँदा आन्दोलन छ भने अनि फर्किए, हिजो आए जम्मा ३ सय जनाको पालो आयो मेरो ८ सयमा पालो थियो आज आउँदा पनि हुँदैन भन्नुभयो’ उपचारका लागि केही समय देखि अस्पताल धाइरहेकी बिरामीले भनिन् ।
उनीहरूले गरेका गुनासो लिएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा डा भरत बहादुर खत्री समक्ष पुग्दा उनले विगत केही दिनदेखि नै बिमाको सर्भर ढिलो चलिरहेकोले समस्या भइरहेको स्वीकार गरे । बिमाको सर्भरको समस्याका कारण सोमबार र मंगलवार बिहान केही क्षण सेवा प्रवाह रोकिएपनि पछि सुचारु भएको उनको भनाइ थियो । तर राम्रोसँग सिस्टमले काम नगर्दा एउटा टिकट काट्न नै ८ देखि १० मिनेट लागिरहेको समेत अस्पतालका निर्देशक समेत रहेका निमित्त उपकुलपति खत्रीले उल्लेख गरे । प्रभावकारी सेवा प्रवाहका लागि बिमा संस्थानले तत्कालै सर्भरको क्षमता बढाउनुपर्नेमा खत्रीको जोड छ ।

उनका अनुसार यस अस्पतालमा सरदर १५ सयको हाराहारीमा दैनिक रुपमा सेवाग्राही पुग्ने गरेका छन् । कहिलेकाही २३ सयको हाराहारीमा समेत बिरामी पुग्ने गरेको उनले सुनाए । यसरी सेवा लिन पुग्ने सेवाग्राही मध्ये बिमा सुविधा लिने ६० प्रतिशत र ४० प्रतिशत नर्मल सेवाग्राही हुने गरेका छन् ।
बिमा सुविधा लिने सेवाग्राही र नर्मल सेवाग्राहीलाई दिने सेवा प्रवाह बारेमा भेदभाव भयो भन्ने गुनासो व्यापक रुपमा आउने गरेपछि अहिले एकद्धार प्रणालि मार्फत सेवा प्रदान गर्ने गरिएको अस्पताल प्रशासनको भनाइ छ । अस्पतालको अहिले भएको भौतिक पूर्वाधार र जनशक्ति मार्फत सेवा दिन १ हजार २ सयको हाराहारीका सेवाग्राहीलाई सहज हुने भएपनि त्यो भन्दा बढी हुँदा सेवा प्रवाह दिन गाह्रो हुने गरेको अस्पतालको भनाइ छ ।
यहाँ पुग्ने सबै विरामीलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि संरचना थप गर्नुपर्ने आवश्यकता रहेको अस्पतालका निर्देशक खत्रीले बताए । अहिले इमर्जेन्सी भवन निर्माणाधीन अवस्थामा छ । उक्त भवन निर्माणपश्चात टिकट काउण्टर र बिलिङ काउन्टरलाई बढाउने योजनामा रहेको बताउँदै त्यसपश्चात सेवा प्रवाहमा केही सहज हुने उनको विश्वास छ । गण्डकी प्रदेशका सबै जिल्ला र छिमेकी प्रदेशबाट समेत उपचारका लागि यो अस्पतालमा आउने गरेका छन् ।













