पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीका नवनियुक्त १५ जना सदस्यहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मङ्गलबार गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरेर प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले नवनियुक्त सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त सदस्यहरूको शपथग्रहण तथा परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले नवनियुक्त सदस्यहरूको ऊर्जा, दृष्टिकोण र समर्पणले गण्डकी प्रदेशमा खेलकुद क्षेत्रको संरचनागत विकास, पारदर्शी प्रणाली र खेलाडीमैत्री नीति निर्माणमा नयाँ गति प्रदान गर्ने विश्वास व्यक्त गरे। खेलकुदले प्रदेशको पहिचान मात्र हैन, युवाशक्तिको अनुशासन, आत्मविश्वास र समर्पणलाई संस्थागत बनाउने बताउँदै उनले प्रदेश सरकार खेलकुद क्षेत्रको दिगो प्रगतिका लागि आवश्यक संरचना, स्रोत तथा अवसरहरूको सृजनामा प्रतिवद्ध रहेको बताए ।

नवनियुक्त सदस्यहरूमा खेल सङ्घ तर्फबाट भीम पराजुली, अनिषा तुलाचन, खिम पुन मगर रहेका छन् । तुलाचन फुटबल, पराजुली भलिबल र मगर हाप्किडो खेलसँग सम्बन्धित छन् । प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद २ को उपधारा ३ को (ञ) बमोजिम अध्यक्षले मनोनयन गर्नेमा प्रदेश खेल सङ्घबाट एक महिलासहित तीनजना मनोनयन गर्नुपर्ने प्रावधान अन्तरगत उनीहरु मनोनयन भएका हुन् ।

यसैगरी सोही ऐनको दफा ३ को उपदफा (२) को खण्ड (घ) र (ङ) बमोजिम रिक्त सदस्यमा १२ जना मनोनयन भएका हुन् । यसरी मनोनयन हुनेमा प्याराग्लाइडिङका भेनिस थापा गोरखा, फुटबलका कृष्ण बहादुर थापा कास्की, भलिबलकी केशमाया गुरुङ तनहुँ, एथलेटिक्सकी इन्द्रा कुमारी मल्ल कास्की, क्रिकेटका रविन्द्र बहादुर प्रजु कास्की, मुवाथाईकी सङ्गीता सुवेदी कास्की, टेबलटेनिसका दिल बहादुर गुरुङ कास्की, तेक्वान्दोकी कन्चन थापा कोइराला कास्की, हाप्किडोकी सिता कुमारी गुरुङ स्याङ्जा, करातेका सागर गुरुङ गोरखा, करातेका विजय कुमार आले मगर कास्की र तेक्वान्दोकी रेखमाया गुरुङ स्याङ्जा रहेका छन् । जसमध्ये सपथ ग्रहण कार्यक्रममा अनिसा तुलाचन, दिल बहादुर गुरुङ र सागर गुरुङ अनुपस्थित थिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ र सदस्य सचिव श्रीधर शर्माले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0