पोखरा । अभिनेता तथा निर्देशक माओत्से गुरुङले यतिबेला चलचित्र वृत्तमा धेरै पैसा कमाउने चलचित्र र चलचित्र विधेयकको बारेको चर्चा भइरहेको बताए । आइतबार चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखाको २२ औं स्थापना दिवसको अवसरमा आयोजना भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यी दुई विषय मध्ये धेरै पैसा कमाउने चलचित्र सम्बन्धी विषय सेलाउँदै जाँदा चलचित्र विधेयक सम्बन्धी विषय बारेको चर्चा र छलफल भने बढ्दै गएको बताए ।
‘धेरै पैसा कमाउने चलचित्र २५ वटा चलचित्र विकास बोर्डबाट सम्मानित हुने अवसर प्राप्त भयो, कसले धेरै कमायो भन्ने बारेमा चलचित्र वृत्तमा हल्ला थियो, विस्तारै सेलाउँदै छ’ उनले भने ।
चलचित्रकर्मी र चलचित्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने चलचित्र विधेयकको रुपमा छलफल भइरहेको खुलाए । ‘हाम्रा विद्वान मित्रले केही त्रुटीपूर्ण छ भनेर यसलाई सच्याउनुपर्छ भनेर छलफल भइरहेको छ ’ उनले थपे ।
कानुन बनिसकेपछि एक दुई वर्षलाई नभएर लामो समय सम्मको लागि हुनुपर्ने भन्दै उनले चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय र सरोकारवालालाई चलचित्र क्षेत्रको विषयमा गम्भिर बनिदिन अनुरोध गरेका छन् । प्रस्तावित चलचित्र विधेयक अभिव्यक्ति स्वतन्त्रता, संघीयताको मर्म र शक्ति सन्तुलनको सिद्धान्त विपरीत देखिएको भन्दै केही चलचित्रकर्मीले २० बुँदे पुनरावलोकन प्रस्ताव राखिसकेका छन् ।
चलचित्रको माध्यमबाट पोखरालाई माथि ल्याउने कार्यमा निरन्तर काम गरिरहेका गुरुङ यतिबेला चलचित्र ‘पेन्सनपट्टा’ निर्देशनको तयारीमा जुटिरहेका छन् । यस अगाडि ‘दयारानी’ चलचित्र निर्देशन गरिसकेका उनीसँग गुरुङ चलचित्र निर्देशन गरेको लामो अनुभव छ ।
आगामी कार्तिकबाट छायाङ्कन सुरु हुने चलचित्रको मुख्य कलाकारको रुपमा दयाहाङ राईको अभिनय रहने निश्चित भएको छ । बाँकी कलाकार केही समयमा टुङ्ग्याउने उनले खुलाए । चलचित्रको छायाँङ्कन कास्की सहित लमजुङको भुजुङमा पनि हुनेछ । यस चलचित्रको कथा समेत माओत्सेकै हो ।
गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) का संस्थापक अध्यक्ष समेत रहेका अभिनेता गुरुङ पोखराबाटै निरन्तर चलचित्र र रङ्गकर्ममा सक्रिय छन् ।










