पोखरा । अभिनेता प्रकाश घिमिरेले धेरै पैसा कमाएको आधारमा राम्रो चलचित्र भन्ने मानक स्थापित हुनु गलत भएको बताएका छन् । आइतबार चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखाको २२ औं स्थापना दिवसको अवसरमा आयोजना भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले चलचित्र पत्रकारले राम्रो चिजलाई राम्रो भन्न जान्नुपर्ने बताए ।
कतिपय चलचित्र राम्रो हुँदाहुँदै पनि नचलेको भन्दै यस्ता विषयमा पत्रकारको कलम चल्नुपर्नेमा उनको जोड थियो । जे राम्रो छ त्यसलाई स्थापित गर्नुपर्ने भन्दै अहिले पैसा कमाउने चलचित्रलाई मात्र राम्रा भनेर बढी प्रचार हुने गरेकोमा उनको विमति थियो । ‘राम्रो पैसा कमाउने चलचित्रहरु मात्र राम्रा हुन् त?’ उनले प्रश्न गरे । केही चलचित्र राम्रा हुँदा हुँदै पनि नचलेको उनले उल्लेख गरे । ‘कतिपय यस्ता राम्रा फिल्म छन् । जो चलेनन् ।’
चलचित्रले लगानी नगरेको कारण सफल भएनन् भन्ने समेत हुने गरेको भन्दै चलचित्र पत्रकारले लगानी कुर्ने नभएर विवेकको प्रयोग गर्नुपर्ने खाँचो उनले औँल्याए । ‘राम्रो चिज राम्रो हो भने चल्नुपर्छ । धेरै मानिससँग पुग्नुपर्यो । केही चलचित्रहरु छन् । जसलाई हामीले एकदम राम्रो मानेका छौ तर ती चलेनन् । मैले खेलेका केही चलचित्र पनि यस्तै भए।’ उनले भने ।
निर्माताको झगडा लगायतका कारणले समेत केही चलचित्र पछाडि परेको खुलाए । यस्तो अवस्थामा चलचित्र पत्रकारले राम्रोलाई राम्रो र नराम्रोलाई ढुक्कसँग नराम्रो भन्न सक्नुपर्ने बताए । ‘चलचित्र पत्रकारले राम्रोलाई राम्रो, नराम्रो छ भने ढुक्कसँग यो यो भएन भनेर भन्नुपर्यो । म पनि पत्रकार भएको भए त्यसरी लेख्थे होला’ उनले थपे । चलेका जति सबै चलचित्र राम्रो मान्न नसकिने उनको भनाइ थियो ।
शिक्षण पेशाबाट रिटायर्ड भएपछि कलाकारिता क्षेत्रमा व्यस्तता बढाएका कलाकार घिमिरे रङ्गक्षेत्र र चलचित्र क्षेत्र दुवैमा सक्रिय छन् । हालसम्म झण्डै ६० भन्दा बढी नेपाली चलचित्रमा काम गरिसके उनले तीन दर्जन नाटक, केही टेलिफिल्म र छोटा चलत्रित्र मार्फत् पनि आफ्नो अभिनय कौशल देखाइसकेका छन् । अहिले पनि उतिकै व्यस्त घिमिरेले अभिनय गरेका केही चलचित्र प्रदर्शनको क्रममा र केही चलचित्र छाँयाङ्कनको क्रममा रहेका छन् ।










