पोखरा । अनिल कार्कीद्वारा लिखित उपन्यास “मिथकको हकदावी” लोकार्पण गरिएको छ । शनिवार नौलो बहसले पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा एक कार्यक्रमको आयोजना गरी कृति लोकार्पण गरेको हो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति समेत रहेका बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, लेखक गनेस पौडेल, समीक्षक गौरी तमु र त्रिवेणीले संयुक्त रूपमा उपन्यास लोकार्पण गरेका हुन्।
कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार श्रेष्ठले कतिपय संस्कृति लोप हुँदै गइरहेको अवस्थामा फरक समुदायको व्यक्तिले नेवारी समुदायको विषयमा कथा वस्तु लेख्नु आश्चर्यजनक र सुखद पक्ष रहेको बताए। उनले विविध कारणले नेपालीहरू विदेशिन बाध्य रहेको औँल्याउँदै खास गरी पश्चिमा मुलुकमा गएका पहिलो पुस्ताले आफ्नो पहिचान नभुले पनि दोस्रो पुस्ताले आफ्नो देश, भाषा र संस्कृति बिर्सिँदै गइरहेको अवस्थामा अमेरिकामा रहेको युवाले आफ्नो पुर्खा खोज्दै आफ्नो हकदावी पेश गर्नु महत्त्वपूर्ण पक्ष रहेको बताए।
लेखक कार्की फोटोग्राफीमा रुचि राख्ने व्यक्ति हुन् । उपन्यास मिथकको हकदावीबारे बोल्दै उनले फोटो ग्राफी गर्ने क्रममा नेवारी जात्रा तथा पर्वहरूको प्रभाव आफूमा रहेको बताए । यो कथा लेख्नको लागि दुईवटा उपन्यास लेख्ने समय खर्च गरेको गरेको बताउँदै उपन्यासमा आदिमतादेखि समुदायको अस्तित्व के हो भनेर? प्रश्न गर्न खोजिएको बताए। उपन्यासमा व्यक्ति र समुदाय बीचको सम्बन्ध के हो? भनेर घोत्लिँदा ‘मिथकको हकदावी’ तयार पारेको उनको भनाइ थियो।
कार्यक्रममा कवि तथा लेखक गनेस पौडेल लेखकको परिचय दिएका थिए । उपन्यासमाथि समीक्षक गौरी तमु र अर्का समीक्षक त्रिवेणीले समीक्षा गरेको कार्यक्रमको सहजिकरण नौलो बहसका अध्यक्ष दीपक पराजुलीले गरेका थिए ।











