पोखरा । तीज विशेष कार्यक्रममा सहभागी बन्न वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने र वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइराला युएई प्रस्थान गरेका छन् । कास्की आदर्श समाज युएईले भदौ १६ गते आइतबार १ बजे दुबईको क्लब एभरेष्टमा आयोजना गर्ने कार्यक्रममा उनीहरू सहितका कलाकारको साङ्गीतिक प्रस्तुती रहनेछ ।
स्रष्टा सम्मान सहितको कार्यक्रम दैवीप्रकोप पीडितको सहयोगार्थ हुन लागेको हो। कार्यक्रममा न्यौपाने र कोइलाले तीज गीत सहित आफ्ना चर्चित गीत सुनाउनेछन् ।
वेदनाको पोको एलबमबाट तीज गीतको मौलिकता पस्केका न्यौपाने र २०४२ सालबाट निरन्तर तीज गीत सार्वजनिक गर्दै तीज गीत कस्ता हुनुपर्छ भन्ने समेत नयाँ पुस्तालाई जानकारी दिदैँ मौलिकता जोगाउन क्रियाशील कोइरालाको नेपाली लोकगीतको क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । दुबईमा हुने कार्यक्रमलाई लिएर दुवैजना उत्साहित छन् । उनीहरू शनिबार एयर अरेबियाको विमानबाट युएई प्रस्थान गरेका हुन् ।
यो कार्यक्रममा गायिका आशा बिसी, गायक अर्जुन कुँवर र विनय खत्री, डान्सर निस्मा श्रेष्ठ र पुष्पा पाण्डेसहितका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।