पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको दोश्रो बैठक पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसद्मा प्रस्तुत भएको बताए ।
एमालेका नेता कार्यकर्ता अराजनीतिक हुन नसक्ने भन्दै एमालेले अन्य शक्तिहरूलाई पनि सुधारको बाटोमा अगाडि बढाउन भूमिका खेल्ने बताए । जनयुद्धका नाममा माओवादीका कार्यकर्ता मात्रै नभएर एमाले सहितका अन्य दलका कार्यकर्ता समेत मारिएको स्मरण गर्दै पोखरेलले हिंसालाई शान्तिमा बदल्न एमालेले नै सबैभन्दा बढी भूमिका खेलेको दाबी गरे। महासचिव पोखरेलले आन्तरिक प्रतिष्पर्धाले पार्टी एकता बलियो बनाउनु पर्ने भन्दै आन्तरिक एकता निर्माणलाई सर्वाधिक महत्वमा राख्न आग्रह गर्दै मिसन ८४ को तयारीमा लाग्न आग्रह गरे।
उनले एमाले जनताको रोजाइको बहुमत प्राप्त पहिलो पार्टी बनाउन मिसन ८४ को अभियान भएको बताए । महासचिव पोखरेलले काँग्रेस एमालेको समीकरणका सम्बन्धमा बजारमा चलेका हल्ला निराधार भएको र यो समीकरण जनतामा आशाको सञ्चार जगाउन भएको उल्लेख गर्दै देशमा उत्पन्न अराजकता र अस्थिरताको अन्त्य गर्न बनेको बताए ।
नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी र जनतालाई जोड्ने प्रतिफलमुखी कार्यक्रम अबको आवश्यकता भएको भन्दै देशमा विकासको खाका कोर्दै प्रतिफलमा केन्द्रीत भएको बताए। नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री समेत रहेका उपमहासचिव गुरुङले यो सरकारलाई असफल हुने छुट नभएको भन्दै सरकार सफल हुन पार्टी सहित सबै जन सङ्गठन हरू सक्रिय रूपले परिचालित हुनुपर्ने उल्लेख गरे । रचनात्मक तवरले समायानुकुल कार्य सम्पादनमा जुट्न आग्रह गर्दै गुरुङले परिष्कृत शैलीले जनताको काम गर्न आग्रह गरे ।
गण्डकी प्रदेश कमिटी निवर्तमान इन्चार्ज केन्द्रीय कमिटी सचिव गोकर्ण बिष्टले अत्यन्त जटिल अवस्थामा नेकपा एमालेले सरकारको नेतृत्व लिएको र यो चुनौतीलाई अवसरमा बदलेर देशमा पूर्ण आशाको सञ्चार गर्नुको विकल्प नभएको उल्लेख गरे ।परिणामलाई निर्धारित गरेर अगाडि बढ्न सबै पार्टी पङ्क्ति लाग्नु पर्ने भन्दै बिष्टले युवा पलायन लगायतका गम्भीर समस्या निराकरण गर्न एमालेको सरकार केन्द्रीत भएको जानकारी दिए । जनचाहना मुताबिक काम गर्न जनप्रतिनिधि सहित पार्टीका सबै तह र तप्का का कमिटी परिचालित हुन आग्रह गरे । कमिटीहरू अभियान र केन्द्र मुखी मात्रै नभएर रचनात्मक सृजनात्मक तवरले काम गर्नु पर्ने उनको भनाइ थियो ।
प्रदेश कमिटी इन्चार्ज स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेको कार्यक्षेत्र जनताको चाहना भएको हुदा जनताका आवश्यकता र सरोकारका बिषयमा केन्द्रीत हुन् आग्रह गर्दै जनताको सुख दु:खको सारथि बन्नमा जोड दिए।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टी छिट्टै गण्डकी प्रदेश सरकारमा जाने तयारी शुरु भएको जानकारी दिदै छिट्टै सो पुरा गरेर सम्बृद्ध प्रदेश सुखी प्रदेश बासीको सपना पुरा गर्न लागि पर्ने उल्लेख गरे ।अधिकारीले परम्परागत भन्दा परिष्कृत र आधुनिक शैलीको सुसंगठित पार्टी निर्माणमा लाग्न आग्रह गरे ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले प्रदेश कमिटीका गतिबिधि र कार्यक्रमको जानकारी दिदै आगामी भाबि कार्ययोजनाका बारेमा चर्चा गरेका थिए। बैठकले पार्टीका सांगठनिक सहित,जनसरोकार र जनजीविकाका सबालमा बार्षिक कार्ययोजना निर्माण गरेको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिए । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सचिव धनन्जय दवाडी, गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरू सहितले आफ्नो जिल्ला कमिटीका गतिबिधि सम्बद्द रिपोर्ट प्रस्तुत गरेको उप सचिव एवम् प्रचार तथा प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिइन् ।