पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ फेवाताल किनार सेदी फाँटमा बृहत् सफाइ अभियान सञ्चालन गरिएको छ। नागरिक समाज कास्कीद्वारा सञ्चालित वातावरण संरक्षणका लागि महाअभियानले मङ्गलबार आयोजना गरेको यो कार्यक्रम मार्फत वाटर फन्ट रिसोर्टसँगैको सेदी फाँटमा सफाइ गरिएको हो । कार्यक्रममा फेवातालमा आश्रित जलारी समुदाय र पोखरा महानगरपालिका वडा नं. १८ कार्यालयले साथ दिएका थिए । विश्वको तेह्रौँ सुन्दर तालको सूचीमा रहेको फेवाताल क्रमश प्रदुषित हुँदै गएको कारण फेवातालको संरक्षण र स्वच्छताका लागि यो कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।

वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक राम बहादुर पौडेलले सफाइ अभियान मार्फत झण्डै एक ट्रक फोहर सङ्कलन गरिएको बताए । पौडेलले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लाई त्यहाँ हुने गतिविधिको बारेमा जानकारी गराएर उनकै नेतृत्वमा सफाइ अभियान सम्पन्न गरिएको जानकारी दिए ।

सरसफाइ सँगै त्यहाँ हुने गरेको यौनजन्य क्रियाकलाप र दुर्व्यवहारका घटना हुन नदिने समेत अभियानको उद्देश्य भएको उनको भनाइ छ । सेदी फाँटमा जथाभावी रुपमा मोटरसाइकल स्कुटर प्रवेश गर्न नदिने, जथाभावी फोहोर मैला फाल्न नदिने र त्यहाँ उत्पादन भएका फोहर जनप्रतिनिधि र सङ्घसंस्था मिलेर निरुत्साहित गर्ने र व्यवस्थापनको लागि सरसफाइ शाखालाई अनुरोध गर्ने निर्णय समेत सफाइ अभियान पश्चात गरिएको खुलाए ।

संयोजक पौडेलले सफाइ अभियान केवल सरसफाइको मात्र नभएर भ्रष्टाचार जन्य कार्य रोक्ने सन्देशको अभियानको भएको बताए । सबैले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने र नागरिकलाई प्रदान गर्ने सेवा प्रवाहमा कुनै खालको कमी कमजोरी हुन नदिनको लागि समेत सफाइ अभियान मार्फत सन्देश दिदैँ आएको अवगत गराए । विगत २१ वर्षदेखि फेवाताल बचाउने लगायत नागरिकका सरोकारका विषयहरूको उठान गरिरहेको उनको भनाइ थियो ।

सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले नागरिक समाजको यो अभियानलाई सबै मिलेर सार्थक बनाउनुपर्ने बताए । पोखरा पर्यटनको राजधानी शहर भएको कारण यसको सौन्दर्यतालाई जोगाउनुपर्नेमा उनको जोड थियो । सेदी फाँटमा बेलुकाको समयमा युवाहरूको आवात जावत बढी हुने, हो हल्ला, फोहर मात्र नभएर विभिन्न अवान्छित गतिविधि समेत हुने गरेको गुनासो रहेकोले त्यसलाई सम्बोधन हुने गरेर शान्ति सुरक्षाको व्यवस्था मिलाउन पहल गर्ने बताए ।

पोखरा महानगर पालिका वडा नं. १८ का वडा सदस्य रमेश बहादुर थापाले सेदी फाँटमा जथाभावी फोहोर फाल्न नदिनको लागि वडाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता जनाए । फेवाताल जोगाउन नसकेमा पोखराको पर्यटन क्षेत्रमा असर पर्ने भएकोले त्यसलाई ध्यान दिनको लागि पहल गर्ने उनको भनाइ थियो ।

स्थानीय सूर्य जलारीले बाहिरबाट आएका व्यक्तिहरुले रातभरि हल्ला गर्ने फोहोर गर्ने गरेको गुनासो गरे । मादक पदार्थ सेवन गरेर झगडा गर्ने, यौनजन्य क्रियाकलाप हुने र स्थानीयलाई दुर्व्यवहार समेत हुने गरेको भन्दै सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरे ।

पोखरामा आयोजना हुने बृहत् सफाइ अभियान कार्यक्रममा तीनवटै तहका सरकार, सबै सुरक्षा निकाय, सरोकारवाला निकाय, नागरिक समाज, पर्यटन व्यवसायी लगायत सामाजिक संघ संस्थाको सहकार्य हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0