पोखरा । गायक चेतन राईको सक्रियता बढ्दै गएको छ । नयाँ गीत सार्वजनिक गर्ने तयारीमा समेत रहेका उनले एकपछि अर्को साँगीतिक कार्यक्रम मार्फत आफ्नो सक्रियता बढाइरहेका छन् । आइतबार तारकेश्वर कृषि पर्यटन व्यापार मेलामा पुगेर प्रस्तुती राखेका उनलाई दर्शकले खुलेर सर्पोट गरे ।
गत जेठ ३ दोस्रो गोकर्णेश्वर महोत्सव २०८२ र जेठ २५ गते कृषि सांस्कृतिक तथा व्यापार महोत्सव सीतापाइलामा प्रस्तुती राखेका थिए । सक्रियताकै कारण उनी हालै सामना दशक गायक सम्मानित समेत भए । पाँचौ राष्ट्रिय सामना म्युजिक अवार्डमा दशक गायकद्वारा सम्मानित भएकोमा उनी उत्साहित समेत बनेका छन् ।
सल्यान जिल्लामा जन्मेका गायक राईले पप तथा आधुनिक विधाका गीत गाउने गर्छन् । उनको पहिलो एलबम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ उनलाई त्यस समयमा परिचित गरायो । त्यसपछि सन् २०१५ मा दोस्रो एलबम ‘साउण्ड’ निकाले । केही वर्षको अन्तरालमा तेस्रो एलबम ‘स्टेप’ उनले पस्केका थिए । ‘स्पीड’ उनको चौथो एलबम हो ।
गायक राई औपचारिक रूपमा सङ्गीत अध्ययन गरेरै यो क्षेत्रमा लागेका हुन् । नेपालका अलावा विभिन्न देशमा पुगेर समेत आफ्नो प्रस्तुती राखिसकेका छन् । विभिन्न अवार्ड र सम्मान प्राप्त गरेका उनी निरन्तर सांगीतिक क्षेत्रमा अगाडि बढ्ने योजनाका साथ क्रियाशिल बनिरहेका छन् ।
