पोखरा । प्रेस क्लब गण्डकीको आयोजनामा पोखरा–७ मासबारमा रहेको मदरल्याण्ड माविमा अध्ययनरत विद्यार्थीलाई न्यायिक समितिको बारेमा जानकारी गराइएको छ । पोखरा महानगरका न्यायिक समितिले  गर्ने कार्यको बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले शुक्रबार प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो।  ‘न्यायिक समितिसँग विद्यार्थी’ शीर्षकको यो कार्यक्रम पोखरा महानगर न्यायिक समितिको सहयोगमा आयोजना भएको हो । महानगर न्यायिक समितिले विभिन्न सङ्घ, संस्थासँग मिलेर विगत दुई वर्षदेखि यस   कार्यक्रमलाई अगाडि बढाइरहेको छ । 

प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको उद्‌घाटन गदै पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यसले निरुपण गर्ने विवादका विषयमा जानकारी गराउँदै सचेतना जगाउने उद्देश्यले विभिन्न सङ्घसंस्थासँग मिलेर कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

उपप्रमुख गुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानले गरेको हुँदा नागरिकलाई सचेतना जगाउन कार्यक्रम गरिएको बताइन् । स्थानीय तहमा सृजना भएका विवादलाई स्थानीय स्तरमा समाधान गदै विवाद रहित समाज निर्माण गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना गरिएको उनको भनाइ थियो । ‘स्थानीय विवादहरू अदालत पुग्ने अवस्थाले समय र पैसा दुवै खर्च हुने भएकाले नागरिकले सहज रुपमा न्याय प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको ब्यवस्था गरिएको हो,’ उनले भनिन् ।

नागरिकले सहज र सरल रुपमा न्याय पाउन भन्ने उद्देश्य र स्थानीय तहका विवाद अदालतसम्म पुग्नुपर्ने अवस्था नआओस् भन्नका लागि न्यायिक समितिको परिकल्पना गरिएको जनाउँदै उनले भनिन् ‘समय र पैसाको बचतका लागि र स्थानीय विवाद मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले न्यायिक समितिको व्यवस्था गरिएको हो । यसका बारेमा महानगरका नागरिकले जानकारी पाउनुपर्छ भन्ने मान्यताले कार्यक्रम सञ्चालन गरिएको हो ।’ 

मदरल्याण्ड माविका प्राचार्य नारायण बरालले कार्यक्रम विद्यार्थीका लागि उपयुक्त भएको बताउँदै महानगरले विद्यार्थीमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई स्थानीय अदालतको रुपमा रहेको न्यायिक समितिको बारेमा जानकारी हुने र समाजमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास थियो ।

 न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समिति सदस्य रजनी परियारले अधिकार क्षेत्र र न्यायिक समितिका अभिलेख संरक्षक पवन सुवेदीले मेलमिलापकर्ता सूचीकृतको प्रक्रिया, आचरण र योग्यताबारे सहजीकरण गरेका थिए ।

प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजाराम पौडेल र सचिव गौरव त्रिपाठी लगायतले बोलेका थिए । कार्यक्रममा मदरल्याण्ड माविमा अध्ययनरत १ सय २० जना विद्यार्थीहरू सहभागी बनेका थिए । न्यायिक समितिको बारेमा जानकारी प्राप्त गर्न पाएकाेमा खुशी व्यक्त गरे । विद्यालयले स्थानीय पाठ्यक्रमलाई स्थान दिइरहेको समयमा यस्ता कार्यक्रमले ज्ञानको दायरा समेत बढाउन सघाएकाे उनीहरूकाे प्रतिक्रिया थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0