पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ । योसँगै कोटीहोममा सहभागी भएका चार सय जना ब्राम्हणलाई पनि सोमबार नै बिदाई गरिनेछ । साथै व्रतबन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि सोमबार नै समापन हुनेछ ।

 आइतबार पनि कोटीहोममा करिब दुई लाख भक्तजन सहभागी भएको आयोजकको दावी छ । हालसम्ममा कोटीहोममा सहभागी हुने भक्तजनको सङ्ख्या करिब ३० लाख पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । आइतबार चलचित्र नायक आर्यन सिग्देल, नायक अञ्जना बराइली, निर्देशक दिवाकर भट्टराईलगायत सहभागी भए । शनिबार २१ करोड दीप प्रज्ज्वलन भएको थियो भने करिब पाँच लाख भक्तजन सहभागी भएका थिए । हालसम्म करिब सात करोड ५० लाख रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर  विजय कृष्णमूर्तिले जानकारी दिए ।

 कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । कोटीहोमको समयावधि थप भएसँगै उनले जेठ ३१ सम्म कथा वाचन गर्नेछिन् । कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शङ्खघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो ।  कोटीहोममा हालसम्मकै सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियोगिता र राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0