पोखरा । प्रदेश क्रिकेट सङ्घ गण्डकीको आयोजनामा मङ्गलबारदेखि पोखरा क्रिकेट मैदानमा यु–१६ गण्डकी प्रदेश छनौट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन घरेलु टोली कास्कीले बाग्लुङमाथि ३८ रनको जित निकालेको छ ।
टस जितेको बाग्लुङले कास्कीलाई ब्याटिङको निम्तो दिएको थियो । वर्षातले प्रभावित खेलमा कास्कीले निर्धारित २२ ओभर सकिन २ बल बाँकी छँदा सम्पूर्ण विकेट गुमाएर १ सय ३७ रन बनायो । कास्कीको ब्याटिङमा प्लेयर अफ द म्याच समेत बनेका सुरज अधिकारीले ५३ तथा सोनु यादवले २० रन जोडे । बाग्लुङका बलरहरू कृष केसीले ३, प्रिन्स शर्मा र रमित कँडेलले समान २ विकेट लिए ।
जितका लागि १ सय ३८ रनको लक्ष्य पछ्याएको बाग्लुङको पारी २१.४ ओभरमा ९९ रनमै समेटियो । बाग्लुङका लागि रमित कँडेलले र आर्या प्रसिद्ध नेपालले समान १७ रन जोडे । कास्कीका बलरहरू अनिस रावतले ३ तथा राज परियार र रिदम पाण्डेले समान २ विकेट लिए ।
यसअघि प्रदेश खेलकुद परिषद् गण्डकी सदस्य सचिव श्रीधर शर्माले अफिसियल दिलिप अग्रहरीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा शर्माले गण्डकीमा क्रिकेट खेल गतिशील खेलकुदका रुपमा देखिएको बताए । सङ्घका गतिविधि उत्कृष्ट रहेको भन्दै आगामी दिनहरूमा पनि क्रिकेट विकासका लागि परिषद्को तर्फबाट सहयोग रहने उनले बताए । आयोजक सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले यो प्रतियोगिता एशिया कप सम्म पुग्ने बाटो भएकाले खेलाडीहरू लगनशील बनेर मेहेनतका साथ लाग्न आग्रह गरे ।
एक साता सञ्चालन हुने प्रतियोगितामा कास्की सहित ६ जिल्लाको सहभागिता रहेको छ । समुह ‘ए’ मा कास्की, बागलुङ र तनहुँ रहेका छन भने समुह ‘बी’ मा पर्वत, स्याङजा र नवलपुर रहेका छन् । प्रतियोगिताबाट यही जेठ १७ गतेदेखि सुर्खेतमा सुरु हुने राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि गण्डकीको टोली चयन गरिने आयोजक सङ्घका अध्यक्ष सिग्देलले जानकारी दिए ।
