पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेकाे आयाेजकले दावी गरेका छन्  । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका  ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका हुन्। भक्तजनको उपस्थितिले कोटिहोम ऐतिहासिक अद्वितीय र अविस्मरणीय बनेको उनको भनाइ छ ।

पोखरामा भएको यो कोटिहोम सुरुवात मात्र भएकोले अव नेपालका ५ वटै प्रदेश तथा देश विदेशमा यस्तै कोटिहोम हुने आयोजकले बताएको छ । कोटिहोममा विभिन्न ठाउँमा राखिएको सहयोग कक्षमा सहयोग गर्ने भक्तजनको भिड व्यवस्थापन गर्न व्यवस्थापकलाई हम्मे हम्मे परेकाे थियो । कोटिहोममा शनिवार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । 

 कोटिहोममा शनिवार सुमेरु पिठाधीश्वर जगद‌्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महाराजले कथा वाचन तथा शुभकामना सन्देश दिएका थिए ।  जगद‌्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य जेठ ५ गते सम्म पोखरामानै रहने कार्यक्रम रहेको छ । यसै गरी शनिवार नै विन्ध्यवासिनी पिठाधीश वाल सन्त निषेशानन्द गुरु महाराजले पनि प्रवचन तथा सन्देश दिएका थिए ।

शनिवार वाचन प्रवीण पं. दिनबन्धु पोखरेललाई बिदाइ गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता, बालयोगेश्वर श्री विजय कृष्णमूर्तिले शनिवार विशेष कार्यक्रमका बिच पोखरेललाई बिदाइ गरेका हुन् । उनले ७ दिन सम्म महायज्ञमा कथा वाचन गरेका थिए ।

आइतबार देखि महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजीले  कथा वाचन गर्ने भएका छन् । उनले   दिउसो २ बजे देखि ६ बजे सम्म कथा वाचन गर्ने प्रचार प्रसार संयोजक  ढकालले जानकारी दिए । उनका अनुसार  विजय कृष्णमूर्तिले १३ गते सम्म  लगातार कथा वाचन गर्नेछन् । त्यसै गरी जेठ ४ गते देखि नै  ११ बजे देखि २ बजे सम्म युवा दार्शनिक कथा प्रवक्ता चैतन्य कृष्ण महाराजले कथा वाचन गर्ने छन् ।

 अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुशलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। काेटिहोममा आज देउडा गायक नन्द कृष्ण जोशी, लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल र लोक दोहोरी गायिका पूर्णकला बिसीले भजन प्रस्तुत गरेर अतिथि तथा भक्तजनलाई छमछम नचाएका थिए । शनिवारनै कोटिहोमलाई सहयोग गर्ने सञ्चारकर्मीहरूलाई पनि सम्मान गरिएको थियो । कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता र रक्तदान कार्यक्रम जारी रहेको छ ।

 कार्यक्रममा पत्रकार ऋषि धमलाले पोखरा उद्योगपति व्यापारीलाई  यो कोटिहोममा दान गरी सेवामा समर्पित हुन आग्रह गरे । ‘पोखरामा के छैन सबै छ यहाँका उद्योगपति व्यापारी मनकारी छन् त्यसैले आउनुहोस् तपाईँहरूले यहाँ दान गरेको नाम सुन्न म आतुर छु’– उनले भने ।

कोटिहोममा ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल,  ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डङ्गोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।

 आइतबार नवलपुरबाट १ सय भन्दा बढी थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।उनका अनुसार कोटिहोममा सहभागि हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गर्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0