पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विफल भैसकेको दावी गरेका छन् । शुक्रबार प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सरकार विफल भैसकेकोले त्यो कुरा स्वीकार गरेर सरकार छोड्नुपर्ने भएपनि त्यसो हुन नसकेको उल्लेख गरे । यो सरकार टिक्छ कि टिक्दैन भन्ने कुरा सरकार आफैमा निर्भर रहने कुरा भएको भन्दै राम्रो काम गर्दै गए सरकार टिक्ने र बेठिक काम गर्दै गए सरकार ढल्ने उल्लेख गरे ।
अहिलेसम्मको अवस्थालाई हेर्दा राष्ट्रियता, प्रजातन्त्र, सुशासन लगायतका सबालमा सरकारले बेठिक काम गर्दै गइरहेको आरोप लगाए । माओवादी केन्द्रले सडक र सदन मार्फत रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताए । परम्परागत नभई रचनात्मक भूमिका खेल्ने माओवादी केन्द्र प्रतिपक्षी हुनु सरकारका लागि स्वर्णिम अवसर भएको उनको भनाइ थियो ।
सरकारले ससाना मागलाई दबाउन खोज्दा समस्या आएको उनले औँल्याए । शिक्षकहरूले दिन नै किटान गरेर आन्दोलनको घोषणा गर्दा पनि सरकारले बेवास्ता गर्दा आन्दोलन लम्बिएको र विद्यार्थीको पठनपाठन नै प्रभावित भएको उनको दावी थियो । आवासीय चिकित्सक, सहकारी पीडित, मिटरब्याजी र लघुवित्त पीडितका आवाजलाई सरकारले दबाउन खोजेकोआरोप उनको छ ।
महासचिव गुरुङले माओवादी केन्द्रले सञ्चालन गरेको तराई मधेश अभियान भनेर गत फागुनबाट गरिएको चरणवद्ध गरिएको कार्यक्रम प्रभावकारी भएको सुनाए । एक फरक प्रसङ्गमा पोखरा विमानस्थलमा भ्रष्टाचार भएको प्रष्ट सङ्केत नीतिगत रुपमा संसदीय छानविन उपसमितिले दिएको चर्चा गरेका उनले अब न्यायिक र प्राविधिक रुपमा छानविन गरेर दोषी उपर कारबाही गर्नुपर्ने धारणा राखे । लगत इष्टमेटमा तलमाथि हुने कुरा र डिपिआर अनुसारको काम नभएको भन्ने लगायतका विषयमा नीतिगत तहमा प्रश्न उठेको उनले बताए ।
प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सचिव सरोज अधिकारीले गरेका थिए ।
















