पोखरा । नेकपा एमाले कास्कीको आयोजनामा चैत्र ३० गते पोखरामा हुने बृहत् जागरण सभाको तयारी अन्तिम चरणमा पुगेको छ । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लागिएको बृहत् जागरण सभाको तयारी अन्तिम चरणमा पुगेको एमाले कास्कीका अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । सभालाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्नेछन् ।
पोखराको मानवअधिकारचोक चिप्लेढुङ्गामा सभा गर्नु अगाडि तीन ठाउँबाट बिहान ११ बजे एकसाथ र्याली निकाल्ने अध्यक्ष अधिकारीले बताए । जस अनुसार पोखरा ११ रानीपौवा दुरसञ्चार गेटबाट मादी गाउँपालिका, रूपा गाउँपालिका, पोखराका वडाहरू १०, ११, १२, १३, १४,१५, २०, २६, २७, २८, २९, ३०, ३१, ३२ र पेशागत तथा बुद्धिजीवीको र्याली सुरु हुनेछ ।
पोखरा सभागृह हल परिसरबाट पोखरा ५, ६, ७, ८, ९, १७, १८ र २४ को तल्लो भाग, २१, २२, २३, ३३ र्याली निकालिनेछ । पोखरा नदिपुरबाट अन्नपूर्ण गाउँपालिका माछापुच्छ्रे गाउँपालिका सहित पोखरा १, २, ३, ४, १६, १८ र २४ को माथिल्लो भाग, १९ र २५ को र्याली निकालिनेछ । र्याली पश्चात मन्ध्यान्ह १२ बजे सुरु हुने सभामा २० हजार जनाको सहभागिता रहने आकलन गरिएको अध्यक्ष अधिकारीले बताए ।
तीन महिने वडा केन्द्रीत अभियान चलाएको एमालेले चैत ११ देखि ३० गतेसम्म प्रदेश र जिल्ला तहमा प्रतिगामी हर्कतका विरुद्धमा सचेतना, जनप्रर्दशन र जागरण सभा गर्ने निर्णय गरेको थियो। एमालेले चैत २४ देखि ३० गतेसम्म गणतन्त्रको पक्षमा देशका विभिन्न ७ सहरमा सभा गर्न लागे अनुसार पोखरामा शनिबार कार्यक्रम हुन लागेको हो । यस अगाडि पोखरामा चैत १८ गते जागरण सभा तथा मोटरसाइकल र्यालीको निकालेको थियो । गणतन्त्रको पक्षमा जागरण अभियान अन्तर्गत एमालेले कास्कीले चैत ११ गते स्थानीय तहका सबै वडामा एकसाथ जागरण कार्यक्रम सम्पन्न समेत गरिसकेको जनाएको छ ।
