पोखरा। होटल सङ्घ पोखरा नेपालले लेकसाइडमा आयोजना गर्न लागेको फेवा नववर्ष महोत्सवलाई सफल पार्न गठित विभिन्न उपसमितिका सहसंयोजकहरूले महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता जुटाई कार्यक्रमलाई भव्य बनाइने बताएका छन् ।
यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको ड्यामसाइड र खहरे बीचको सडकमा महोत्सव आयोजना हुने छ । महोत्सव उपसमितिका संयोजकहरू संलग्न सङ्घको हालै सम्पन्न बैठकमा सङ्घ अन्तर्गतका सदस्य, प्रतिष्ठानका कर्मचारीहरू र आमा समूह तथा पर्यटकीय सङ्घसंस्थाका व्यक्तित्वहरू संलग्न विशाल र्याली निकाली महोत्सवको उद्घाटन गरिने विषयमा चर्चा गरिएको थियो ।
महोत्सवका मूल संयोजक एवं आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै महोत्सवको अवसरमा निकालिने र्याली तथा झाँकी विशेष रहने जानकारी दिए । लेकसाइडका सडकका विभिन्न ठाउँमा सांस्कृतिक नाचहरू हरेक दिन प्रदर्शन गरिने जानकारी पनि उनले दिए । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने सङ्घले जनाएको छ । महोत्सवका अवसरमा आयोजक सङ्घले पोखरा आउने पाहुनालाई होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने जानकारी यसअघि नै दिइसकेको छ ।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । ब्याडमिन्टन कप, स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरूको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि प्रस्तुत हुने छन् ।
फेवा महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.ली, सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरूमा बन्दीपुर केबलकार लि. फोन पे, अन्नपूर्ण केबलकार लि, टोकला चिया रहेका छन् । इन्स्युरेन्स पार्टनरमा प्रभु इन्स्युरेन्स कम्पनी र प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकाका रहने कार्यक्रममा जानकारी गराइयो ।
सो अवसरमा सङ्घको २० औं अधिवेशनबाट निर्वाचित भई २०८१ सालको कात्तिक ७ गतेसम्म सक्रिय समितिका पदाधिकारीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । यसअघि सम्पन्न सङ्घका महोत्सव र कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सघाउ पुर्याउने एरिया संयोजकहरूलाई पनि सो अवसरमा मायाको चिनो प्रदान गरियो ।
सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचन, सङ्घका उपाध्यक्ष एवं महोत्सवका सहसंयोजकद्वय दीपक श्रेष्ठ र गणेशराज पहारीले पनि सो अवसरमा भनाई राखेका थिए । कार्यक्रमको संचालन सङ्घका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।
