पोखरा । पोखरामा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ हुने भएको छ । पोखरा थिएटरको आयोजनामा हुन लागेको यो नाटक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको छ । पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताइएको छ ।
महोत्सवमा नेपालका साथै चीन, ट्युनिसिया, नर्वे, जापान लगायतका देशहरूका नाटक मञ्चन हुनेछन् । पोखरा थिएटरले यसभन्दा अगाडि २०७५ सालमा पहिलोपटक अन्तर्राष्ट्रिय नाटक महोत्सवको आयोजना गरेको थियो । त्यतिबेला नेपाल सहित भारत, मेसेडोनिया लगायतका कलाकारको उपस्थिति थियो । सो महोत्सवले पोखरालाई सांस्कृतिक तथा पर्यटन गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय पहिचान दिन महत्वपूर्ण भूमिका खेलेको कारणले यसपालि पुन: अन्तर्राष्ट्रिय महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सव निर्देशक परिवर्तनले महोत्सवमा बहुसांस्कृतिक तथा विविध नाट्य अनुभव प्रदान गर्नको लागि ५ देशका नाटकहरू मञ्चन गर्न लागिएको बताए । पोखरा थिएटरको अध्यक्ष समेत रहेका परिवर्तनले महोत्सवमा कलाकार, रङ्गकर्मी, पर्यटन व्यवसायी र संस्कृति प्रेमीहरूसँग अन्तरक्रिया गर्नको लागि फोरम थिएटर कार्यशालाहरू महोत्सवमा हुने खुलाए । नयाँ पुस्तालाई थिएटर प्रति आकर्षण गर्नको लागि यो कार्यक्रम गर्न लगिएको हो ।
पोखरा थिएटरका संस्थापक सदस्य दिल प्रसाद गुरुङले चैत्र ९ गतेबाट सुरु हुने महोत्सव चैत्र १३ गतेसम्म सञ्चालन गर्ने बताए । महोत्सव अवधिभर ४ विदेशी सहित ६ वटा नाटक मञ्चन हुने उनले खुलाए । महोत्सव उद्घाटन पूर्व सांस्कृतिक र्याली समेत आयोजना गरिनेछ । पोखरा थिएटरबाट सुरु हुने र्याली महेन्द्रपुल चिप्लेढुङ्गा हुँदै थिएटरमा नै पुगेर समापन हुनेछ ।
रङ्गकर्मी प्रमिला तुलाचनले फरक-फरक विधाका नाटक मञ्चन हुने भएकोले महोत्सवको महत्व रहेको बताइन् । यसबाट नेपाली नाटक र विदेशी नाटकमा रहने फरकपना र सिक्नुपर्ने कुराहरूको बारेमा समेत जान्ने अवसर सिर्जना हुने उनको विश्वास छ । नाटक महोत्सवको अवलोकन गरेर साथ दिनको लागि आयोजक पोखरा थिएटरले आग्रह गरेको छ । थियटरले तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२५ (निट फेस्ट)सँगको सहकार्यमा महोत्सव गर्न लागेको हो ।
