पोखरा । चीनको सिचुवान प्रान्तबाट आएका उद्योगी/व्यवसायी तथा पोखरा उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच व्यावसायिक सहकार्यको सहमति जुटेको छ । पोखरा भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँगको छलफलपछि सो सहमति जुटेको सङ्घका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । सिचुवान चीनको छैटौँ ठूलो अर्थतन्त्र भएको प्रान्त हो । मदिरा, बाँसका उत्पादनका निम्ति यो प्रान्त प्रसिद्ध छ । यसका अलावा पछिल्लो समय यो प्रान्तले विद्युतीय गाडी र सामग्री उत्पादन पनि उत्तिकै बढाएको छ । 

चिनियाँ प्रतिनिधिमण्डलमा विदेशबाट सिचुवान फर्किएकाहरूको सङ्गठन (सिचुवान प्रोभिन्सीयल रिटर्न्स ओभरसिज चाइनिज फेडेरेसन ) का महासचिव सु यान्माइ, सोही संस्थाका अधिकृत जी जुन्चेङ,लुजुका अध्यक्ष जियाङ याङ्कीयाङ, महासचिवजोङ, वाइन निर्माता लुजु लाजियो ग्रुप अफ कम्पनीका उपाध्यक्ष यायो सिन्जियानलुजु लाजियो ग्रुप अफ इन्भेष्टमेन्टका अध्यक्ष वाङ गङ रहेका थिए । 

प्रतिनिधिमण्डलको स्वागत गर्दै सङ्घका अध्यक्ष गोकर्ण कार्कीले विश्वका दुई ठूला जनसङ्ख्या भएका भारत र चीनजस्ता दुई देशको व्यापारिक सम्बन्ध बिस्तारका निम्ति पुलको काम गर्न आफूहरू तयार रहेको बताए । उनले नेपाल र चीनबीच भएका सम्झौता अनुरूप जडिबुटी, भैंसीको मासु, माछा र अमिला फलफूल, हस्तकलाका सामाग्रीहरू निर्यात गर्न नेपाली व्यवसायी तत्पर रहेको पनि बताए । उनले पोखराको पूर्वाधार निर्माणमा चीन सरकारको सहयोगप्रति आभार प्रकट गर्दै चीन सरकारले चालु अङ्ग्रेजी वर्षलाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणाको पनि मुक्तकण्ठले प्रशंसा गरे । ‘पोखराको पर्यटनसहित अन्य उद्योगहरूमा लगानी बढाउन, हामीसँग सहकार्य गर्न पनि यहाँहरूलाई आह्वान गर्दछौँ,’उनले भने,‘नेपाल लगानीको लागि उपयुक्त र छिटो नाफा आर्जन गर्न सकिने देश भएको पनि हामी यहाँहरूलाई विश्वास दिलाउन चाहन्छौँ । म यहाँहरूलाई मिलेर उद्योग/व्यवसाय गर्न र सँगै हिँड्न आग्रह गर्दछु ।’ 

प्रत्युत्तरमा बोल्दै विदेशबाट सिचुवान फर्किएकाहरूको सङ्गठन (सिचुवान प्रोभिन्सीयल रिटन्स ओभरसिज चाइनीज फेडरेसन) का महासचिव सु यान्माइले सिचुवानको राजधानी छेन्दुबाट पोखराको सिधा उडानले पोखराको प्रवर्द्धन हुने विश्वास व्यक्त गरिन् । उनले पोखरा सुन्दर रहेको बताउँदै सिधा उडानका निम्ति गरिएका प्रयासहरूको पनि स्मरण गरिन् । दक्षिण एसिया विश्वकै ठूलो बजार हो । हामी त्यो बजार चाहन्छौँ । नेपाल र पोखरामा कस्ता उद्योगहरूमा लगानी गर्न सकिन्छ, यहाँ के सामग्री पठाउन सकिन्छ भन्नेबारे हामी यहाँहरूसँग सहकार्य गर्छौँ,’उनले भनिन्,पोखरा–छिन्दु सिधा उडानले अन्य देशका पर्यटनहरु पोखरा हुँदै चीन पुग्ने बाटो खुलेको छ । हामी पर्यटन क्षेत्रमा पनि सहकार्य गर्नेछौँ ।’ 

कार्यक्रममा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठसहित पोउवा सङ्घका उपाध्यक्षद्वय दीनेश बास्तोला, बलराम आचार्य, महासचिव शोभा गौतम,कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ,उपमहासचिव सुदीप प्रधानाङ्गलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0