पोखरा । पोखरा २८ ठूलाकोटमा खुला तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम रोयल ट्रेकमा पर्ने कास्कीको रमणीय ठाउँ कालिकाको ठूलाकोटमा हुन लागेको प्रचारप्रसार संयोजक विष्णु सुवेदीले जानकारी दिइन् ।
भदौ १४ गते शुक्रबार बिहान १० बजेबाट हुने कार्यक्रममा सहभागी बन्नको लागि दर्ता शुल्क ५ सय रुपैयाँ लाग्नेछ । सहभागी बन्न चाहने समुहको दर्ता भाद्र १३ गते दिउँसो ४ बजेसम्म गरिसक्नुपर्ने सुवेदीले खुलाइन् ।
‘हामी जुट्छौ संस्कृति जगेर्ना सँगै पर्यटन प्रवर्द्धनमा’ भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २८ कार्यालयको समन्वय र सहयोग रहेको छ । कार्यक्रम भव्य बनाउन वडा सदस्य डाल्डादेवी भुजेलको संयोजकत्वमा समिति समेत गठन भएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले १५ हजार, द्वितीय हुने समुहले १० हजार , तृतीय हुने समुहले ७ हजार र सान्त्वना हुने समुहले ४ हजार रुपैयाँको साथमा प्रमाणपत्र हात पार्नेछन् । यसैगरी उत्कृष्ट वेशभूषा र उत्कृष्ट नृत्य तर्फको पुरस्कार २ हजार रुपैयाँ रहेको छ ।
महिला सञ्जाल पोखरा २८ को आयोजनामा दोस्रोपटक हुन लागेको तीज गीत प्रतियोगिता २०८१ को थप आकर्षणमा रसी तान्ने प्रतियोगिता र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ। लोक दोहोरी कलाकार रामजी पौडेल र सरस्वती लामिछानेको विशेष प्रस्तुतिमा रम्ने अवसर समेत मिल्नेछ ।
कार्यक्रमको तयारीलाई तिव्रता दिइएको प्रचार संयोजक सुवेदीले जनाइन् । ठूलाकोटमा पुगेर मौलिक तीज संस्कृतिको संरक्षणमा सहभागी बन्न सबैमा उनले आग्रह गरेकी छन् । पर्यटकीय गन्तव्यको रूपमा स्थापित ठूलाकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, गणेश, लमजुङ लगायतका हिमाल हेर्न सकिन्छ ।
कास्कीका सातवटा ताल, मादी गाउँपालिकाका सुन्दर दृश्य, मादी नदि, पोखरा तथा लेखनाथका दृश्य सहित कास्की जिल्लाका अधिकांश ठाउँलाई यहाँबाट एकसाथ नियाल्न सकिन्छ । वि.सं. २०३७ सालमा बेलायतका राजकुमार चाल्सले पदयात्रा गरेपछि यसको चर्चा ह्वात्तै बढेको थियो।