पोखरा । कास्कीको लेखनाथमा जारी दोस्रो सूर्यतारा खेल महोत्सव अन्तर्गत नेकोस कप फुटबल प्रतियोगितामा  गन्नी फुटबल क्लब पोखरा सेमिफाइनल र गण्डकी प्रदेश प्रहरी क्लब क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

सोमबारको पहिलो खेलमा गन्नी फुटबल क्लब र आदर्श युवा क्लब बीचको खेल निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । कुल १६ पेनाल्टी प्रहार भएको खेलमा गन्नी सडन डेथमा विजयी बनेको हो । पेनाल्टी सुटआउटमा गन्नीका आकाश रानाभाट नायक बने । उनले आदर्शका मनिष तामाङको पेनाल्टी प्रहार रोक्दै टिमलाई जित दिलाए । यसरी सडनडेथमा ८-७ ले बाजी मार्दै गन्नी फुटबल क्लब सेमी फाइनलमा प्रवेश गर्न सफल बन्यो ।

सोमबारको दोस्रो खेलमा गण्डकी प्रदेश प्रहरी क्लबले एलजी एशोसियसनलाई ३-० पराजित गर्दै क्वाटर फाइनलको यात्रा सुरु गरेको हो । पुलिसको तर्फबाट पहिलो हाफको १० मिनेटमा मान बहादुर बिष्टले पहिलो गोल गरि टिमलाई अग्रता दिलाए । खेलको ४१ मिनेटमा पुन विष्टले दोस्रो गोल गरेर खेद २-० को अवस्थामा पुर्‍याए । खेलको ४८ मिनेटमा विवेक गुरुङले अर्को गोल गरि खेल ३-० को अवस्थामा पुर्‍याए । त्यसपछि दुवै तर्फबाट भएका प्रयास गोलमा परिणत हुन सकेन  र खेल ३-० ले गण्डकी प्रदेश प्रहरी क्लबले जितेको छ ।

यस अघि आयोजक सुर्य तारा क्लब सेमीफाइनल र विष्णु पादुका क्लब हेम्जाको समुह क्वाटर फाइनलका लागि छनोट भएका थिए । मङ्गलवार पहिलो खेल विष्णु पादुका क्लब हेम्जाआरएस बिच फुटबल क्लबले मध्यान्ह सवा १२ बजे खेल्नेछन् । मङ्गलबारको दोस्रो खेल दिउँसो सवा २ बजे एल सी ब्रदर्श र गण्डकी प्रदेश प्रहरी क्लबका बीच हुने भएको सूर्य तारा क्लबका अध्यक्ष तथा खेल महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिएका छन् ।

फूटबल प्रतियोगितामा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने  अध्यक्ष पुनले बताए । द्वितीय हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले जनाए । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

 चैत्र २ गते सम्म हुने खेल महोत्सवमा फुटबलका अलावा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश रहेको नेपाल खेलकुद महासङ्घ कास्कीका अध्यक्ष इश्वर अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सह प्रायोजकमा बन्दिपुर केबल कार प्रालि रहेका छन् । प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद नेपाल, प्रदेश खेलकुद परिषद गण्डकी र नेपाल पर्यटन बोर्ड रहेको जनपरिचालन उपसमिति संयोजक समेत रहेका महासंघ कास्की अध्यक्ष अधिकारीले बताए । सूर्य तारा क्लब र नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा पोखरा २९ स्थित प्रस्तावित लेखनाथ रङ्गशालामा यो खेल महोत्सव भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0