पोखरा । पत्रकार कृष्णमणि बराललाई ‘प्रेस क्लब पत्रकारिता पुरस्कार २०८१’ अर्पण गरिएको छ । प्रेस क्लब गण्डकीले स्थापना गरेको यो पुरस्कार सङ्घीय संसदका सभामुख देवराज घिमिरेले पोखरामा आयोजित एक कार्यक्रमकाबीचमा अर्पण गरेका हुन् ।
पत्रकारिताको माध्यमबाट पर्या पर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पुर्याएकोले पत्रकार बराललाई नगद ५० हजार रुपैयाँ सहित सम्मानपत्र र दोसल्ला मार्फत पुरस्कृत गरिएको हो प्रेस क्लबका अध्यक्ष एकराज गिरीले बताए ।
पुरस्कार अर्पण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी सङ्घीय संसदले कुनै कानुन नबनाउने बताए । सबैले लडेर ल्याएको लोकतन्त्र ल्याएकोले लोकतन्त्र विरोधी कानुन बनाउन सम्भव नभएको प्रष्ट पारेका हुन् । सामाजिक सञ्जालमा सही भन्दा पनि गलत कुराहरू बढी प्रचार भइरहेको उनको गुनासो थियो । गलत कुराहरूको प्रचार रोक्नका लागि कानुन आवश्यक भएको उनले खुलाए । सामाजिक सञ्जलमा देखिएको विकृति, विसङ्गतिलाई नियन्त्रण र नियमन गर्न आवश्यक देखिएको भन्दै त्यसमा देखिएको विकृतिलाई नियन्त्रण गर्न कानुन बनाउँदा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको हनन नहुने उनले बताए ।
सभामुख घिमिरेले अहिलेको संसद पारदर्शी भएकाले सम्बन्धित सरोकार राख्नेहरूसँग पनि व्यापक रूपमा छलफल गरेर मात्र कानुन निर्माण गर्न संसद कटिबद्ध रहेकव उल्लेख गरे । उनले पत्रकारिता क्षेत्रको काम समाचार लेख्ने र सम्प्रेषण गर्ने मात्र नभएर प्राप्त गरेको उपलब्धीको रक्षा गर्ने जिम्मेवारी पनि भएको औँल्याए। उनले लोकतान्त्रिक प्रणालीमा प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने गरी कानुन नबन्ने ठोकुवा समेत गरे।
नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले लोकतन्त्र विरोधी गतिविधि बढीरहेकोले त्यसप्रति सचेत हुनुपर्ने बताए । स्वतन्त्रताको नाममा छाडातन्त्र चलिरहेको छ भन्दै उनले सामाजिक सञ्जाल देखिएको बेथितिलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले पूर्वराजा ज्ञानेन्द्र गणतन्त्र विरोधी गतिविधिमा सक्रिय भएको आरोप समेत लगाए ।
कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दामोदार पौडेल वैरागीले सामाजिक सञ्जाल प्रयोग तथा नियगमन गर्ने सम्बन्धमा बनेको विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी नभएको जिकिर गरे । प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गौरब त्रिपाठी र कोषाध्क्ष राजु गिरीले समेत बोलेका थिए । क्लबले पत्रकारिता क्षेत्रमा योगदान दिने एक जना पत्रकारलाई यो पुरस्कार अर्पण गर्ने जनाएको छ ।
