पोखरा । खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल खेलको उपाधि खेल पत्रकारले चुमेको छ । पोखरा रङ्गशालामा शनिबार सम्पन्न खेलमा खेल पत्रकारको टिमले खेलकुद विकास मञ्चको टोलीलाई ५–३ गोलअन्तरले हराउन सफल भएको हो ।

खेलको सुरुवातमै १–० ले पछि परेको खेल पत्रकारको टिमले उत्कृष्ट पुनरागमन गर्दै ५–३ को जित हासिल गर्न सफल भएको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पुरा गरे । यस्तै शिवजङ्ग क्षेत्री र साजन गुरुङले समान १–१ गोल गरे । मञ्चका लागि बिरेन पुलामी मगर र अनुकार मगर र विक्रम थापा (म्याक्सवेल) ले समान १–१ गोल गरे ।

खेलको सर्वोत्कृष्ट खेलाडी खेलकुद विकास मञ्चका कप्तान व्रिकम थापा घोषित भए । उदीयमान खेलाडी पनि मञ्चकै राजु पुलामी मगरले हात पारे । उत्कृष्ट गोलरक्षकको उपाधि खेल पत्रकार टिमका प्रकाश अधिकारीले हात पारे । उत्कृष्ट डिफेन्डर प्रवेश पोखरेल र उच्चगोल कर्ता खेल पत्रकारकै निकोलस गुरुङले हात पारे । गत वर्ष भएको मैत्रीपूर्णमा खेलकुद विकास मञ्चले उपाधि चुमेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0