पोखरा । घाँस–दाउरा गरेर टुकी बत्तीको रापमा पढ्नुपर्ने अवस्था त्यो जमानामा डाक्टर पढ्छु भन्ने सपना सायद कसैले देख्दैनथे । देखेर पनि पुरा हुने सम्भावना कमै थियो । बाँसको चोयाको भारी बोकेर, घाँस काटेर, पानी बोकेर पढेको मान्छे डा.जगदीशलाल वैद्यले कहिले साचेनन् एकदिन आफू पनि डाक्टर बन्छु भन्ने । एउटा भनाई छ, उडेर चन्द्रमा छुने सपना देख्नु र सपना देख्न छोड्नु हुँदैन । ‘पढ्दै गएँ, मेरो पालामा एसएससीमा प्रथम श्रेणीमा पास गर्ने थिएनन् । अहिले लाग्छ, डाक्टर बन्न त भाग्यमा पनि हुनुपर्ने रहेछ ।’ पोखरामा जारी १२ औं एनसेल फाउन्डेसन लिट्रेचर फेस्टिभलका क्रममा हाँस्दै भने, ‘भने नेपालमा मेडिकलको पढाई पनि हुने थिएन, बाहिर जानुपथ्र्यो, सबैलाई सम्भव थिएन, छात्रवृत्ति पाउने कम थिए ।’ फेस्टिभल अन्तरगतको ‘नमस्कार डा.साब् ।’ सेसनका क्रममा अलिमिया कक्षमा भएको कार्यक्रममा वक्ताका रुपमा डा.जगदीशलाल वैद्य र डा बुद्धिबहादुर थापा उपस्थित थिए भने सहजकर्ताका रुपमा पत्रकार दीपेन्द्र श्रेष्ठ ।
पोखरामा पर्यटकीय सहरका रुपमा चर्चित छ । तर स्वास्थ्य क्षेत्रमा भने चुनौती तथा अभाव भएको गुनासो यदाकदा सुन्ने गरिन्छ । डा.बुद्धिबहादुर थापाले पनि अमृत साइन्स कलेजबाट बायोलोजीको पढाई सकेपछि डाक्टरीको पढाई गरेका थिए । उनका अनुसार त्यो समयमा पोखराको पीएन क्याम्पसमा विज्ञान विषयको पढाई सुरु भइसकेको थियो । पहिलेका डाक्टरले बिरामीको कुरा सुनेर उपचार गर्थे भने अहिलेकाले त्यति धेरै कुराकानी नगर्ने आफूले बुझेको उनको भनाई छ । ‘अहिलेको डाक्टरले बिरामीलाई राम्रोसंग कुराकानी नगरेको हो कि जस्तो लाग्छ ।’ उनी भन्छन्, ‘बिरामीको कुरा सुनेर मात्रै उपचार गर्नुप¥यो भन्ने मेरो नयाँ पुस्ताका डाक्टरलाई मेरो सुझाव छ ।’ बिरामीको समस्या सुन्दा मात्रै धेरै रोगको उपचार गर्न सहज हुने उनको अनुभव छ । अहिले डाक्टरी पेसा बढी नै बजारीकरण भएको पो हो कि भन्ने उनले आजभोलि बुझ्न थालेका छन् ।
नेपालको स्वास्थ्य क्षेत्रमा विभिन्न चुनौती छन् । भनेको बेलामा उपचार पाउन सकिन्न, देशकै विकट जिल्लामा उपचार पाउन नसकेर सुत्केरी महिलाले ज्यान गुमाउनुपर्छ । दुर्घटना भएपनि सहज उपचार पाउन सक्दैनन् । केही स्थानमा त हेलिकप्टर मात्रै माध्यम हो । हेलिकप्टर पाइहाले पनि आर्थिक अभाव र महंगाईले गर्दा सबैले खर्च गर्न सक्दैनन् । पोखराकै कुरा गर्ने हो भने, यहाँ सुविधा छ, तर सामान नभएकाले धेरैले समस्या भोग्नुपरिरेको छ । विगतका वर्षभन्दा अहिलेको समयमा नेपालको स्वास्थ्य क्षेत्रमा धेरै फरक आएको दुवै डाक्टरको अनुभव छ । ‘पहिले नेपालमा स्वास्थ्य सम्बन्धी पढाई हुँदैनथ्यो, अहिले पोखरामा मेडिकल सम्बन्धी पढ्न पाइन्छ ।’ डा.थापा भन्छन्, ‘सबै कुराको एउटा समय हुन्छ, परिवर्तन भइरहेको छ, आत्तिनु हुँदैन ।’ यता डाक्टर माथि किन कुटपिट हुन्छ भन्ने सहजकर्ता श्रेष्ठको प्रश्नको जवाफ दिँदै डा.वैद्य भन्छन्, ‘सायद कम्युनिकेसन ग्पाय भएर पो हो कि, किन कि अहिलेका डाक्टर बिरामीसंग ५ मिनेट पनि कुरा गर्दैनन् ।’
देशबाट विभिन्न बाहनामा पलायन हुने र आफ्नो भविष्य सुरक्षित गर्नेको संख्या वृद्धि भएको छ । सरकारी जागिरमा भएपनि देश छाडेर जाने धेरै छन् । त्यो बेलाको समयमा झन् थोरै जनशक्ति हुने भएकाले अवसर धेरै आउँथ्यो विदेशबाट, डा.वैद्यलाई पनि आयो । तर उनलाई भनिरहन कुनै संकोच लाग्दैन, आफू देशको मायाले, देशभक्तको भावनाले ओतप्रोत भएर होइन, परिवारको जिम्मेवारीले बाँधेर ल्याएको थियो । ‘म देशभक्तको भावनाबाट यहाँको सेवा गर्छु भनेर आएको होइन, परिवारको लागि आएको हुँ ।’ सेसनमा आफ्नो भनाई व्यक्त गर्दै उनले भने, ‘परिवारको जिम्मेवारी निर्वाह गर्न आएको हुँ । यहाँ बस्दाबस्दै देशको माया लाग्नु स्वभाविक हो ।
डा वैद्यले आफ्नो पुस्तकमा युके, नाइजेरिया, बुर्नाई लगायतका देशबाट अफर आएको भएपनि आकर्षित गर्न नसकेको बताए । ‘यहाँ बस्दा आफूलाई परिवार पाल्न सक्छु भनेर सहज वातावरण सिर्जना भइसकेको थियो ।’ उनी भन्छन्, ‘यहाँ केहीको कमी छैन, छुट्टीमा विभिन्न देश जान सकिन्छ, मेहनत भने गनुपर्यो ।’ यसमा डा. थापाको पनि डा.वैद्यको भनाई भन्दा फरक छैन । खासमा उनी पनि परिवारको जिम्मेवारीले बाँधिएर नेपाल छाडेर गएनन् । एमडी पास गरिसकेपछि उनले डाक्टरको लाइसेन्सको परीक्षा पास गर्न सकेनन्, तेस्रोपटकमा बल्ल पास गरेका थिए । ‘परिवारको जिम्मेवारी थियो, त्यसलाई नाघेर हिँड्न सकिन, पछि विदेश गएका साथीले नै त्यहीं राम्रो छ, कतै नजानुस् भन्न थाले, त्यसपछि त्यस्तै भयो ।’ उनले भने ।
