पोखरा । पोखरामा गण्डकीको पहिचानको रुपमा रहेका लोपोन्मुख नाचहरूको प्रदर्शन सुरु भएको छ । लोपोन्मुख नाचहरूको प्रदर्शन गर्ने कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शनिबार उद्घाटन गरे । उनले यी नाचहरूको प्रदर्शनले हामी संस्कृतिमा कति धनी छौ भन्ने बारेमा प्रष्ट पारेको बताए । यस्ता लोपोन्मुख संस्कृति जगेर्ना गर्दै नयाँ पुस्तालाई थप जिम्मेबार बनाउने चाहना आफूहरूको रहेको उनले सुनाए । गण्डकी प्रज्ञा प्रतिष्ठानले ऐतिहासिक कर्म गरिरहेको उनको भनाइ थियो ।
तरेली सांस्कृतिक परिवारका अध्यक्ष राज बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, स्वागत उपकुलपति गोरे गुरुङ र सञ्चालन सदस्य सचिव मनकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, डा.बुद्धिमान श्रेष्ठ, तारा बहादुर गुरुङ, पुरन श्रेष्ठ, दिलिप न्यौपाने, प्राज्ञ कृष्ण प्रसाद पौडेल, डिल कुमारी पौडेल, सङ्गीता श्रेष्ठ सहित विभिन्न वाङ्गमयिक संस्थाका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए ।
संस्कृति संरक्षण गरेर पर्यटन प्रवर्द्धनका तथा पुस्तान्तरणको लागि यो कार्यक्रम गर्न लागिएको आयोजक तरेली सांस्कृतिक परिवारले जनाएको छ ।
मौलिक संस्कृतिको जगेर्ना र विकासको लागि आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा महानगरपालिकाले सहकार्य गरेका छन् । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश प्रवर्द्धक रहेको छ ।
गण्डकी प्रदेशमा रहेका जातिहरूले हिजो अपनाउँदै आएका आफ्ना संस्कृतिहरू जुन लोप हुने अवस्थामा छन् त्यसको बारेमा अनुसन्धान गरिएको थियो । सोही अनुसन्धानका माध्यमबाट सामाग्री तयार गरेका १५ वटा नृत्य प्रदर्शन गर्न लागिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा सञ्चालन भएको प्रदर्शन माघ २५ सम्म निरन्तर आयोजना हुनेछ । हरेक दिन दिउँसो १ बजेबाट ३ बजेसम्म नृत्य प्रदर्शन गरिनेछ । ५० भन्दा बढी कलाकारले यो कार्यक्रम मार्फत नृत्य प्रदर्शन गर्नेछन् ।
तरेली सांस्कृतिक परिवारका सचिव रविन गुरुङले गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातिको लोप भएर जान लागेका गीत र नृत्य प्रदर्शन गर्न लागिएको बताए । नयाँ पुस्तालाई नृत्यको बारेमा जानकारी गराउने हेतुले कार्यक्रम गरिएको उनको भनाइ छ ।
