पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा माघ १९ देखि माघ २५ सम्म गण्डकीको पहिचानको रुपमा रहेका लोपोन्मुख नाचहरूको प्रदर्शन हुने भएको छ । संस्कृति संरक्षण गरेर पर्यटन प्रवर्द्धनका तथा पुस्तान्तरणको लागि यो कार्यक्रम गर्न लागिएको आयोजक तरेली सांस्कृतिक परिवारले जनाएको छ ।
मौलिक संस्कृतिको जगेर्ना र विकासको लागि आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा महानगरपालिकाले सहकार्य गरेका छन् । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश प्रवर्द्धक रहेको छ ।
गण्डकी प्रदेशमा रहेका जातिहरूले हिजो अपनाउँदै आएका आफ्ना संस्कृतिहरू जुन लोप हुने अवस्थामा छन् त्यसको बारेमा अनुसन्धान गरिएको थियो । सोही अनुसन्धानका माध्यमबाट सामाग्री तयार गरेका १५ वटा नृत्य प्रदर्शन गर्न लागिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
हरेक दिन दिउँसो साढे १ बजेबाट ३ बजेसम्म नृत्य प्रदर्शन गरिनेछ । यो कार्यक्रम सफल भएमा हरेक साँझ यस्तो प्रदर्शन गर्ने तयारी गरिएको छ । ५० भन्दा बढी कलाकारले यो कार्यक्रम मार्फत नृत्य प्रदर्शन गर्नेछन् । पहिलो दिन निःशुल्क अवलोकन गर्न पाइनेछ भने बाँकी दिनमा २ सय रुपैयाँको टिकट काट्नुपर्नेछ । विद्यार्थीले २५ प्रतिशत छुटको अवसर पाउनेछन् ।
तरेली सांस्कृतिक परिवारका सचिव रविन गुरुङले गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातिको लोप भएर जान लागेका गीत र नृत्य प्रदर्शन गर्न लागिएको बताए । नयाँ पुस्तालाई नृत्यको बारेमा जानकारी गराउने हेतुले कार्यक्रम गरिएको उनको भनाइ छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रदेशमा विभिन्न जिल्लामा पुगेर विज्ञसँग छलफल समेत गरेर नृत्यको बारेमा अनुसन्धान गरिएको उनले खुलाए । कार्यक्रमको तयारी पुरा भएको र नृत्य प्रदर्शन कार्यक्रममा सहभागी बन्न सचिव गुरुङले सबैलाई आग्रह गरेका छन् ।
