पोखरा । २४औं आहा रारा पोखरा गोल्डकपको सह-प्रायोजन जयश्री फुड्सले गर्ने भएको छ । शनिबार क्लब भवनमा आयोजित कार्यक्रमबीच जयश्री फुड्सका जनरल म्यानेजर अमित अग्रवाल र क्लबका अध्यक्ष केशवराज बरालले सम्झौता पत्रमा हस्ताक्षर गरे । जय श्री फुड्सले सह प्रायोजन वापत नगद रु ५ लाख रुपैयाँ सहयोग गर्ने छ । खेल क्षेत्रमा पहिलोपटक सहयोग गरिएको जनरल म्यानेजर अग्रवालले बताए ।
सहारा क्लब पोखराको आयोजनामा आगामी माघ २२ गतेबाट सुरु हुने २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपका लागि १० टिमको सहभागिता सुनिश्चित भए सँगै प्रतियोगिता सफल बनाउन सह–प्रायोजकका लागि चितवनको जय श्री फुड्स सँग सम्झौता भएको हो ।
फागुन ३ गते सम्म पोखरा रङ्गशालामा सञ्चालन हुने २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा आयोजक सहारा क्लबसहित नेपाली ए डिभिजनका क्लब विभागीय टोली एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र क्लब, सङ्कटा युथ क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, एनआरटी फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब यूकेको सहभागिता सुनिश्चित भएको सहारा क्लबका अध्यक्ष केशवराज बरालले शनिबार पोखराका सञ्चारकर्मीलाई जानकारी दिए । प्रतियोगितामा कुल १२ टिमको सहभागिता गराउने तयारी भइरहेको उनले खुलाए ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा हुँदै आएको छ । क्लबले सञ्चालन गर्ने पोखरा गोल्डकपबाट सङ्कलित रकम सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकहरूको फुटबल प्रशिक्षण सँगै निःशुल्क आवास सुविधा प्रदान गर्दै आएको छ ।