लेखनाथ। ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ ।

‘शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिँदै गर्दा किनमेल गर्ने दर्शकहरूको सङ्ख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ’–महोत्सवका मुल संयोजक बिनोद श्रेष्ठले भने । महोत्सवमा हालसम्म पाँच करोड ८५ लाख वराहको आर्थिक कारोबार भएको छ । महोत्सवको १० औं दिन शनिबार मात्रै अहिलेसम्मकै सर्वाधिक एक करोड ३५ लाख बराबरको कारोबार भएको हो । 

यसै गरी महोत्सवको हालसम्म एक लाख ९० हजार दर्शकहरूले अवलोकन गरेका छन र शनिबार मात्र ४० हजार दर्शकले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घकी महासचिव एवम् प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीले जानकारी दिइन । शनिबार दिउँसो महोत्सव स्थलमा दर्शकहरूको अत्याधिक चाप बढेपछि आपतकालीन गेट खुला गरि दर्शकहरूलाई सहज रुपमा आवागमनको व्यवस्था मिलाइएको थियो । 

स्थानीय क्षेत्रका विद्यालयहरूमा परीक्षा सकिएर जाडो बिदा पनि भएका कारण बाल बालिका सहित अभिभावकहरूको उपस्थिति पनि उल्लेख्य वृद्धि भएको हो । महोत्सव सकिन अव तीन दिन मात्र बाँकी रहेको र एक पटक महोत्सव जानैपर्ने मान्यता स्थापित भएकाले पनि महोत्सवको पछिल्ला दिनहरूमा दर्शक र कारोबारमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

हालको शिथिल अर्थतन्त्रको अवस्थामा पनि महोत्सवमा देखिएको दर्शकहरूको उपस्थिति र कारोबारले आफुहरूलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि वढी दर्शक र कारोबार हुनेमा विश्वस्त रहेको सङ्घका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सह संयोजक राजेन्द्र ओझाले बताए ।

शनिबार लोकदोहोरी कलाकारहरू सुप्रिम मल्ल, आशा बीसी, कृष्ण अखेली, रमा राना,  जीवन दाहाल, शिवहरी ढुङ्गाना लगायतले प्रस्तुती राखेका थिए भने बेलुका राजु लामाको लाइभ व्याण्ड मङ्गोलियन हर्टको प्रस्तुतीले स्टेज तताएको थियो ।
महोत्सवमा आइतबार लोकदोहोरी कलाकारहरू खुमन अधिकारी, प्रीति आले, विक्रम परियार, सुनिता परियार, सुमन खड्का र मञ्जु वि.क. लगायतले प्रस्तुती राख्नेछन् भने बेलुका लाइभ कन्सर्टमा भाष्करध्वज श्रेष्ठको डिमर्चा ब्याण्डको प्रस्तुती रहने कलाकार व्यवस्थापन उप–समितिका संयोजक उपेन्द्रराज सुवेदी(राजु)ले जानकारी दिएका छन् । 

लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश रहेका छन भने प्रवर्द्धनकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0