काठमाडौँ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को  बैठक  बुधबार सम्पन्न भएको छ। सो  बैठकले माध्यमिक तह (कक्षा ९-१०) को इतिहास र वातावरण विज्ञानको पाठ्यक्रममा प्राप्त सुझावहरूलाई समेटेर १५ दिन भित्र स्वीकृतिका लागि सिफारिस गर्न निर्देशन गरेको छ ।

 सो दुई विषयमा विज्ञहरूले   पाठ्यक्रममा विषयवस्तुलाई दैनिक जीवनसँग जोडी स्थानीय विषयसँग तादम्यता मिलाउने, र विद्यार्थीको दृष्टिकोणबाट पाठ्यक्रम निर्माण गर्ने जस्ता  विषयहरूमा सुझाव  दिए । उनीहरूले युवाहरूलाई देशप्रति सकारात्मक भावना विकास गराउने र नेपालको सभ्यता कुन हो जस्ता दृष्टिकोणबाट इतिहास विषयको पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिए । वातावरण विज्ञानको पाठ्यक्रममा नेपालको विविधताको संरक्षण, हिमाल पग्लने समस्या, चुरेको समस्या र जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई विद्यार्थीले कसरी समाधान गर्न सक्छन् भन्ने विषयहरू पाठ्यक्रममा समावेश गरिनुपर्छ भन्ने सुझाव दिएका छन् । बैठकले  मातृभाषातर्फ आधारभूत तह (कक्षा ६-८) को चाम्लिङ भाषाको पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस गरेको  छ ।

 विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मा रहेका ऐच्छिक विषयको समूह मिलान गरिएको छ जस अनुसार माध्यमिक तह कक्षा (९-१०) मा हाल कार्यान्वयनमा रहेको ऐच्छिक पहिलो समूहमा रहेका २७ भाषाहरूमध्ये नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाउने र तीन समूहमध्ये कुनै दुई समूहबाट एक एक ओटा विषय छनोट गर्न पाउने व्यवस्था गरिएको छ । 

यसैगरी विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार माध्यमिक तह कक्षा (११- १२) मा ऐच्छिक तेस्रो समूहमा रहेको १४ भाषाहरूमध्ये नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाउने र पाँच समूहमध्येबाट विद्यार्थीले कुनै तीन विषय लिन पाउने भएका छन् ।

 बैठकले निर्णय गरेअनुसार माध्यमिक तह कक्षा (११-१२ को ऐच्छिक दोस्रो समूहमा रहेको जनसङ्ख्या अध्ययनलाई ऐच्छिक तेस्रो समूहमा र तेस्रो समूहमा रहेको  विषयलाई दोस्रो समूहमा राखिएको छ । अब विद्यार्थीले आफ्नो इच्छाअनुसार पाँचओटा समूहमध्ये कुनै तिन ऐच्छिक विषय रोज्न पाउने छन् ।अब विद्यार्थीको मूल्याङ्कनमा घरायसी तथा दैनिक जीवनमा गरेका कार्यहरू पनि समावेश हुने भएको छ ।

बैठकले विद्यार्थीको घरायसी एवम दैनिक जीवनका कार्यलाई आधारभूत तह कक्षा (६-८) तथा माध्यमिक तह कक्षा (९-१०) को आन्तरिक मूल्याङ्कनमा समावेश गर्न आवश्यक छलफल र आवश्यक तयारी गरी परिषदमा पेश गर्न पाठ्यक्रम विकास केन्द्रलाई सैद्धान्तिक सहमति दिएको छ। बैठकले लिएका यी निर्णयहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने र पाठ्यक्रमलाई समयसापेक्ष बनाउने अपेक्षा गरिएको छ ।

परिषद्का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा विद्यालय शिक्षाको पाठ्यक्रमलाई थप समसामयिक र विद्यार्थीमुखी बनाउने वृहत छलफल समेत गरेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0