पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप ,गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ गर्ने भएको छ ।
खेलकुदमा युवाहरूलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताए ।
माछापुच्छ्रे–७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म चल्ने पुरुष भलिबल प्रतियोगिताको विजेताले उपाधिसँगै नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलमा पराजित २ समुहलाई नगद रु ५०/५० हजार रुपैयाँ प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका बाहिरका जुनसुकै तह वा स्तरका २ जना खेलाडी समावेश गर्न सकिने छ ।
यता खुला महिला भलिबल तर्फ विजेतालाई उपाधिसँगै नगद रु १ लाख र उपविजेतालाई नगद रु ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र दिइने छ । सेमिफाइनलमा पराजित २ समुहलाई नगद रु २५/२५ हजार रुपैयाँ प्रदान गरिने छ ।महिला भलिबल तर्फ एक समुहमा २ जना सम्म राष्ट्रिय खेलाडी समावेश गराउन पाइनेछ ।
पुरुष तथा महिला भलिबल प्रतियोगिताको विधागत तर्फ वेस्ट प्लेयर, कोच, स्पाईकर, मिडल ब्लकर, डिफेन्डर, सर्भरलाई पालिकाको लोगो अङ्कित खेलकुद पोशाक प्रदान गरिने उपाध्यक्ष सिता अधिकारीले बताइन ।
प्रतियोगितामा सहभागि हुन फागुन १२ गते दिनको ठिक ३ बजे सम्म टिम दर्ता गर्नुपर्ने गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम बहादुर गुरुङले बताए । टिम दर्ता निशुल्क रहेको छ । पहिलो उद्घाटन खेल फागुन १४ गते बिहान ठिक ८ बजे सुरु हने छ ।