पोखरा । शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका निर्देशक तथा सूचना अधिकारी हरि प्रसाद अर्यालले परीक्षालाई हाउगुजी बनाउन नहुने बताएका छन् । केन्द्रले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । पोखरा महानगरपालिकाले कक्षा ८ को परीक्षा केन्द्र अर्को विद्यालयमा तोक्ने भनेर गरेको निर्णयतर्फ सङ्केत गर्दै पत्रकारले राखेको जिज्ञासा मेटाउदै उनले सिकाइको लागि पनि परिक्षण हुनुपर्ने जिकिर गरे । अर्को विद्यालयमा गएर परीक्षा दिने विषयलाई अन्यथा लिन नहुने उनको भनाइ थियो । बच्चालाई बानी पार्ने र नयाँ ठाउँमा घुलमिल गराउन समेत यसले मद्दत पुग्ने उनको तर्क छ । परीक्षाको स्टान्डर्ड तोक्ने जिम्मेवारी नै कानूनले स्थानीय तहलाई दिएको कारणले सबै सरोकारवालाको सहमतिमा यो कार्य गर्नुपर्ने बताए ।
अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०८५ सालको बैशाख १ मा लागू भएपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति विभिन्न अवसरबाट वञ्चित हुनुपर्ने भएकोले आधारभूत शिक्षा प्राप्त गरेको व्यक्तिको सङ्ख्या त्यतिबेलासम्म शतप्रतिशत पुर्याउनुपर्ने निर्देशक अर्यालले बताए ।
सोही कार्यक्रममा बोल्दै शिक्षा निर्देशनालय गण्डकीका महानिर्देशक अम्बिका प्रसाद आचार्यले गण्डकी प्रदेश सरकार सिक्दै कमाउदै कार्यक्रममा लक्षित भएको बताए । यो कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्नेमा सरकारको ध्यान रहेको भन्दै यसले एकेडेमिक ज्ञान हासिल गरिसक्दा समेत व्यवहारिक ज्ञान नहुने अवस्थाको अन्त्य हुने दावी गरे । विभिन्न महामारीले पाठ सिकाएको भन्दै अनलाइन माध्यमलाई समेत प्रयोग गरिएको बताए ।
शिक्षा विकास तथा समन्वय इकाई कास्कीका इकाई प्रमुख उपसचिव लोकनाथ आचार्यले सरकारी विद्यालयले स्थानीय बालबालिकालाई प्राथमिकता दिएर भर्ना लिनुपर्ने बताए । २०८५ बाट अनिवार्य तथा निशुल्क शिक्षा ऐन कार्यान्वयनमा जाने भएकोले क्षमता अनुसार स्थानीयलाई प्राथमिकता दिएर भर्ना लिन निर्देशन दिएको उनको भनाइ छ ।
स्थानीयलाई भर्ना लिएपछि सिट बाँकी रहेमा बल्ल बाहिरकालाई भर्ना लिन पाइने उनले खुलाए । विद्यालयमा दरबन्दी पुरा नदिने, पूर्वाधार तयार नगरिदिने गरेको कारण केही विद्यालयले शुल्क उठाउँदा अनदेखा गर्नुपरेको बताए । खोइ दरबन्दी, लाइब्रेरीको लागि बजेट खोइ भन्यो भने आफूहरूसँग जवाफ नरहेको उनले सुनाए । तरपनि फि उठाउने सबै विद्यालयलाई बोलाएर छलफल गराएर बुझ्ने गरेको र गलत प्रयोजनका साथ शुल्क उठाउन भने नदिएको इकाई प्रमुख आचार्यको दावी थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पोखरामा दिवा खाजाको लागि १० रुपैयाँ थप गरेर २५ बनाइएको भएपनि त्यो प्रयाप्त नभएको बताए । कार्य्रकममा सहजीकरण शाखा अधिकृत धर्म प्रसाद तिवारीले गरेका थिए ।