लेखनाथ । कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुहबीचको हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।
प्रतियोगितामा सोधिने महिला हक, अधिकार, कानुनका र समसामयिक प्रश्नमा उनीहरूको जवाफले माहोल निकै रोचक बन्ने गरेको छ । कुनै बेला आउने अप्रत्याशित जवाफ र झटारो जवाफले कार्यक्रम झनै रोचक बनेको हो ।
घरमा आफ्ना बाबु नानीहरूको गृहकार्य सिकाउन व्यस्त हुने आमाहरू अहिले महोत्सवमा आयोजित आमा तथा महिला समुहका बीचको हाजिरी जवाफ प्रतियोगितामा सहभागि भएर साँझ बिहान त्यसको तयारीमा समेत जुट्ने गरेका छन ।
महिलाहरूलाई गीत सङ्गीत र रत्यौलीमा मात्र सीमित नराखी उनीहरूमा रहेको अन्तरनिहित क्षमताको विकास गराउँदै र मौलिक ज्ञानका बारेमा जानकारी गराउने उद्देश्यले पहिलो पटक अन्तर महिला तथा आमा समुहकाबीच हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता व्यवस्थापन उप समितिकी संयोजक प्रभाकुमारी लामिछानेले बताइन ।
लामिछानेले भनिन–“आयोजित प्रतियोगिताबाट आमा/महिलाहरुमा पनि समसामयिक विषयको जानकारी हुँदो रहेछ भन्ने देखियो, सवाल जवाफको प्रतियोगितामा महिला मित्रहरूले खुलेर सहभागि जनाउनु भयो यो नै हाम्रो लागि गर्वको विषय हो ।”
प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका छन् । सहभागी समुह मध्येबाट प्रत्येक दिन चार समुहकाबीच प्रतिस्पर्धा गरि आठ समुहलाई सेमी फाइनलमा प्रवेश गराउने गरि प्रतियोगिता सञ्चालन भइरहेको छ ।
सहभागी समुहहरूलाई विषयगत प्रश्न देखि महिलाहरूको दैनिकी दिनचर्याका विषय वस्तु देखी धर्म, संस्कृती, साहित्य, स्थानीय निकाय, स्थानीय सेरोफेरो र लेखनाथ उद्योग वाणिज्य सङ्घ सम्बन्धित प्रश्न तयार गरिएको छ भने अहिलेसम्म २४ समुहका बिच प्रतिष्पर्धा भइसकेको छ ।
प्रतियोगिताबाट सेमिफाइनलमा प्रवेश गरेका आठ समुहका बिच हुने फाइनल चरणको प्रतिष्पर्धा हुने छ भने प्रतियोगितामा प्रथम हुने समुहले नगद रु २५ हजार, द्वितीय हुने समुहले २० हजार, तृतीय हुने समुहले १५ हजार र सान्त्वना हुने समुहले १० हजार र बाँकी चार समुहले पाँच/पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । आइतवारसम्म भएको प्रतिष्पर्धामा सरस्वती सामुदायिक महिला समूह पोखरा ३३, समाज सुधार आमा समुह पोखरा २९ र सृजना महिला समुह पोखरा २६ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवको चौथो दिन आइतबार सात हजार दर्शकहरूले अवलोकन गरेको र २० लाख बराबरको आर्थीक कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिएकी छन् ।
महोत्सवमा आईतबार लोकदोहोरी कलाकारहरु श्याम राना, भुमिका गिरी, शंकर विरही गुरुङ, बिन्दा परियार, टेक क्षेत्री, कमला गैह्रे, शिवहरी ढुंगाना र उमादेवी खनालको प्रस्तुती रहेको थियो भने बेलुका लाईभ कन्सर्टमा सहिमा श्रेष्ठ, सन्तोष बस्याल र र्यापर शुसिलले प्रस्तुती दिएका थिए ।
सोमबार लोकदोहोरी कलाकारहरु शिव हमाल, चोलेन्द्र पौडेल, वसन्त वि.क, अस्मिता डल्लाकोटी, पार्वती गुरुङ्ग, नविना सुवेदी हास्यकलाकार सुन्दर खनाल (नट्टी वावा) र बेलुका कन्सर्टमा जेम्सी र्यापरको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।