पोखरा । पोखरा २९ भण्डारढिकमा यहीं मंसिर २२ गतेबाट आयोजना हुने आदर्श कप फुटबल प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक आदर्श युवा क्लबले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार प्रतियोगितामा ३ विभागीय टिम सहित ८ टिमको सहभागिता रहने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान गरिएको क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार खेलाडीको स्तर वृद्धि गर्न तथा फुटबल खेलको प्रचार प्रसार र विकास गर्नु प्रतियोगिताको उद्देश्य रहेको छ । क्ल्बको पहिचान गराउँदै खेल पर्यटनको विकास गर्नु लगायतका उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले खुलाए ।
मंसिर २९ गतेसम्म भण्डारढिक खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । बिधागततर्फ सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने अध्यक्ष गुरुङले बताए । हरेक खेलको म्याद अफ दि म्याच हुन सफल खेलाडीलाई ५ हजार नगदको साथमा ट्रफी प्रदान गरिनेछ ।
अध्यक्ष गुरुङका अनुसार प्रतियोगिताको सेमिफाइनल सम्मको लागि प्रवेश शुल्क १ सय रुपैयाँ र फाइनल खेलको लागि १ सय ५० रुपैयाँ रहने छ । बिक्री भएको टिकटबाट लेखनाथ पत्रकार मञ्चलाई १५ रुपैयाँ प्रोत्साहन सहित सहयोग गर्ने उनले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा शौर्य सिमेन्ट इन्डष्ट्रिज रहेको छ । पत्रकार सम्मेलन मार्फत क्लबको जर्सी समेत सार्वजानिक गरिएको थियो । प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका वडा नं। २९ कार्यालय र विशेष सहयोगीमा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल सङ्घ, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका र जिल्ला खेलकुद विकास समिति कास्की रहेको आयोजकले जानकारी दिए ।