पोखरा । नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नेपाल अध्यक्ष शान्ता बस्नेतले अधिकार प्राप्तिका लागि सबै श्रमिक एक हुनुपर्ने बताएकी छन् । क्युपेक नेपाल कास्की जिल्लाको ११ औ अधिवेशन कार्यक्रममा बोल्दै उनले लामो समयको आन्दोलनका कारण संविधानमा सुनिश्चित गरेका अधिकारका विषय कार्यान्वयनमा नआउनु दुःखद भएको गुनासो गरिन् ।

२०५७ सालदेखि आफूहरूले यो विषय उठाएको भएपनि अझैसम्म कार्यान्वयन नभएको उनले बताइन् । श्रमिकले आफ्नो हक अधिकार प्राप्त गर्नको लागि अब आफ्नो ठाउँबाट समेत पहल गर्नुपर्ने उनको भनाइ थियो । २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउनका लागि दुईचार जना नेता मात्र नभएर सबै मजदुरहरू एकसाथ लाग्नुपर्नेमा उनको जोड छ । निर्माण क्षेत्रमा काम गर्ने श्रमिकलाई राज्यले उचित सम्मान गर्नुपर्ने धारणा उनले राखिन् ।

कार्यक्रममा बोल्दै जिफन्ट गण्डकी अध्यक्ष रुद्र बहादुर खत्रीले अधिवेशनको अवसर पारेर क्युपेक नेपाल कास्कीले र्याजली मार्फत साङ्केतिक रुपमा प्रदर्शन गरेको बताए । सरोकारवाला पक्ष र शासन गर्नेहरूबाटै हुने गरेको विभेद अन्त्यका लागि आवाज बुलन्द पार्नुपर्नेमा उनको जोड थियो । योगदानमा आधारित सामाजिक सुरक्षा कोष सबै ठाउँमा लागू गर्नुपर्ने भन्दै मजदुरहरूलाई आफ्नो हक अधिकारको बारेमा बुझेर अगाडि बढ्न आग्रह गरे । हालसम्म देशभर ५ वटा पालिकामा ३ सय ७ जना मात्र सामाजिक सुरक्षा कोषमा सूचिकृत भएको उनले जनाए । सबै पालिकामा यो व्यवस्था कार्यान्वयनको लागि दबाबमूलक कार्यक्रम गर्नुपर्ने उनको भनाइ थियो । श्रम ऐनको बारेमा बुझ्न समेत उनले अनुरोध गरे ।

क्युपेक नेपाल कास्कीका अध्यक्ष तिर्थराज मगरको अध्यक्षतामा भएको उद्‌घाटन सत्रमा केन्द्रीय सचिव तथा महिला विभाग इन्चार्ज बलादेवी बरुवाल राई, केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज हरिभक्त श्रेष्ठ, यातायात मजदुर सङ्गठन गण्डकीका अध्यक्ष विष्णु बहादुर खत्री, क्युपेक नेपाल कास्कीका उपाध्यक्ष सूर्य उपाध्याय, सचिव जीवन लामा लगायतले बोलेका थिए ।  उद्‌घाटन समारोह अगाडि पोखराको पृथ्वीचोकबाट जिरोकिमि सम्म र्यााली समेत निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0