पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई शिरोपर गर्दै विशिष्टीकृत सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । कृषकहरूको समस्या तथा गुनासोहरू तत्काल सम्बोधन हुनेगरि उच्च मनोबलका साथ सेवामा खटिन उनले निर्देशन दिएकी हुन् ।
मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष ०८१/०८२ को त्रैमासिक प्रगति समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भनिन्, ‘आम कृषकहरू प्रत्यक्ष लाभान्वित हुनेगरि कार्यालयहरूको सेवालाई थप चुस्तदुरुस्त बनाउन आग्रह गर्दछु । कृषकहरू गुनासो वा कुनै समस्या लिएर कार्यालय आइपुग्दा तत्काल समाधान हुनेछ भने तत्काल र समय लाग्ने तवरको छ भने सोही अनुसार निरुपण हुने गरी कार्य अघि बढाउनु हुनेछ भन्नेमा विश्वस्त छु ।’
कृषकहरूलाई कृषि बिमाबारे अवगत गराउनुपर्ने उनको जोड थियो । मन्त्री श्रेष्ठले अधिकांश पशु पालन गर्ने कृषकहरूले पशुको बिमा गर्ने गरेकोमा अन्नबाली तर्फ न्यून सङ्ख्यामा कृषकहरू बिमामा संलग्न भएकाले सम्पूर्ण कृषकहरूमा कृषि बिमाको महत्वका बारेमा जानकारी गराउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘पशुपालन गर्ने अधिकांश कृषकहरूले बिमा गर्नुभएको थाहा पाए । तर अन्नबाली लगायत खेती गर्ने कृषकहरू बिमामा संलग्न भएको सङ्ख्या न्यून छ । अब सबै कृषकहरूलाई कृषि बिमाको महत्वबारे जानकारी गराउँदै यसमा समेट्नु पर्दछ । यसले भइपरी हुने क्षतिबाट कृषकलाई राहत त मिल्छ नै, सँगै कृषि कर्ममा ढुक्क भएर अघि बढ्ने वातावरण तय हुनेछ ।’
यही कात्तिक २६ गते मालेपाटनस्थित मन्त्रालयको सभाहलमा आयोजित समीक्षा गोष्ठी कात्तिक २७ गते समापन भएको हो । गोष्ठीमा मन्त्रालय मातहतका सबै कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।