पोखरा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मङ्गलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ ।
टोलीका मालिक स्वतन्त्र प्रताप शाह, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्टले संयुक्त रुपमा जर्सी सार्वजनिक गरे । मार्की दीपेन्द्रले आफू र टोली मालिक दुवै सुदूरपश्चिमबाट हुनु संयोग रहेको उल्लेख गर्दै टोलीसँग उत्कृष्ट व्यवस्थापन रहेको बताए ।
ब्रान्ड एम्बेसडर ओलम्पियन विष्टले नेपालको क्रिकेटलाई नयाँ उचाइँमा पुर्याउने प्रयासका क्रममा एनपिएल आयोजनाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) लाई धन्यवाद दिए। क्यानका सचिव पारस खड्काले एनपिएलको फ्रेन्चाइज टोलीको प्रयासमा नेपाली क्रिकेटले अर्को खुड्किलो चढ्ने क्रममा रहेको बताए ।
टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले ४८ वर्ष देखि आफू क्रिकेटमा रहेको स्मरण गर्दै सुदूरपश्चिम रोयल्सले दिएको जिम्मेवारीका लागि धन्यवाद दिए ।
अनिता चलाउने, चक्र बम, टङ्क तिमिल्सिनाको स्वर र एनएक्स मसको संगीत संयोजन रहेको सुदूरपश्चिम रोयल्सको टिम एन्थम पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो । यसक्रममा सुदूरपश्चिमको पहिचान दर्साउन दशरथ सुनारले निर्देशन गरेको भिडियो पनि प्रस्तुत गरिएको थियो ।
टोलीका मालिक शाहले एनपिएलले नेपाली क्रिकेटको स्वर्णिम युगको सुरु भएको र अब पछाडि फर्केर हेर्नु नपर्ने तर्क राखे । सुदूरपश्चिम खेलकुदका लागि उर्वर भूमि रहेको औंल्याउँदै उनले सुदूरपश्चिमले भविष्यमा खेलाडी तयार पार्ने प्रतिवद्धता व्यक्त गरे । क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ ।
टोलीमा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) रहेका छन् ।