पोखरा । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश र नेकपा एमाले गण्डकी प्रदेशको २ (दुई) दलीय राजनैतिक संयन्त्रको बैठक मङ्गलबार बसेको छ । बैठक नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशको सभाकक्षमा बसेको हो ।
बैठकले ७ वटा निर्णय गरेको नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सभापति शर्मा र नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएका छन् ।
विज्ञप्ति अनुसार सत्तारुढ दल नेपाली काङ्ग्रेस र नेकपा एमाले गण्डकी प्रदेशको राजनैतिक संयन्त्रको बैठकको अध्यक्षता दुवै दलको सहमतिमा आलोपालो प्रणाली अनुसार संयोजन गर्ने, बैठकको व्यवस्थापन जुन दलले अध्यक्षता गर्ने हो सोही दलले गर्ने निर्णय बैठकले गरेको जनाइएको छ ।
गण्डकी प्रदेश भित्रका सबै जिल्लामा केन्द्रको निर्देशानुसार संयन्त्र निर्माण गरी कार्य गर्न निर्देशन दिने, दुई पार्टी बीचको सहकार्यको आवश्यकतालाई जन समक्ष पुर्याउन र संयुक्त सरकारले गरेका काम र योजनाको पक्षमा जनमत निर्माण गर्न, सरकारले गरेका कामको बारेमा समीक्षा गर्दै आवश्यकता अनुसार सरकारलाई सुझाव दिने, सहयोग गर्ने र सकारात्मक कामको प्रचार–प्रसार गर्ने निर्णय गरिएको छ ।
नेपाली काङ्ग्रेस र नेकपा एमाले बीचमा स्थानीय तहमा कहीँ कतै विवाद भई समस्या आएमा सम्बन्धित निकायका २ दल बसी तत्काल समस्याको समाधान गरी सहकार्यलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिने समेत भनिएको छ ।
नेपालको संविधान र कानुनी राज्यको अवधारणाको विरुद्ध भइरहेको जुनसुकै अराजनैतिक, अराजक गतिविधिप्रति यो बैठकको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिहरूलाई समयमा नै नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै कानुनी राज्यको कार्यान्वयनको लागि आवश्यक सहयोग गर्न सबै पक्षसँग अपिल गर्ने निर्णय बैठकले गरेको छ ।
गण्डकी प्रदेशका विकास निर्माणका कार्य सम्बन्धमा २ दलीय साझा धारणा सहित अगाडि बढ्ने र आगामी बैठक नेकपा एमालेको संयोजनमा नेकपा एमाले गण्डकी प्रदेश कार्यालयमा हुने निर्णय समेत भएको बताइएको छ ।
बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेकपा एमाले संसदीय दल गण्डकीका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारी, नेपाली काङ्ग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछाने र नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माको उपस्थिति रहेको थियो ।