पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि शुक्रबार पक्राउ परेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा म्याद थपको लागि पेश भएकामा ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।  हिजो शनिवार सार्वजनिक बिदा परेका कारण आज अदालतमा उपस्थित गराइएको हो ।

लामिछानेले अदालत परिसरमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया समेत दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै सरकार ढालीहाल्नुपर्ने बताए । न्यायालयप्रति भने आफ्नो विश्वास रहेको उनको भनाइ थियो ।

लामिछाने पक्राउ परेसँगै उनका समर्थक र सहकारी पीडितले गरेको प्रदर्शन र धर्ना कार्यक्रमलाई ध्यान दिँदै पोखरामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । यहाँ हुनसक्ने प्रर्दशन, जुलुस, हुलदङ्गा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका दुई ठाउँमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेबाट जारी भएको आदेश अनुसार आइतबार बिहान ११:४५ बजेदेखि अर्को आदेश नभइञ्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा लागू हुने क्षेत्रमा पोखराको सहिदचोक आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्र रहेका छन् । सहिदचोक आसपासको क्षेत्रमा पूर्व तर्फ वाई चोक, पश्चिम तर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ्गचोक पर्यटन बोर्डको कार्यालय ड्यामसाइडमा निषेधाज्ञा लागू हुनेछ । यसैगरी पालिखेचोकदेखि नबिन मावि गैह्रापाटन सम्मको क्षेत्रमा निषेधाज्ञा लागू हुने जनाइएको छ ।

निषेधाज्ञा गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला जम्मा भइ अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन । आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर कानून बमोजिम कारवाही हुने प्रष्ट पारिएको छ ।

आइतबार दिउँसो निषेधाज्ञा जारी भएको ठाउँमा लामिछानेको समर्थकले प्रदर्शन गरेपछि भिड तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गर्नु परेको थियो ।

सहकारी पीडितलाई न्याय दिलाउन तथा बचतकर्ताको रकम फिर्ता गराउनका लागि सहकारी पीडित सङ्घर्ष समितिले समेत दबाबमूलक कार्यक्रम आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0