पोेखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन् । नेपाल क्रिकेट सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले खेलकुद क्षेत्र अन्तर्गत क्रिकेट खेलमा नेपालले प्राप्त गरेको उपलब्धि प्रशंसनीय रहेको उल्लेख गरे । “क्रिकेटका कारण विश्वभर भएका सबै नेपाली एक भएका छौँ । हाम्रो भावनालाई मजबुत बनाएको छ ।”, उनले भने ।

सम्पूर्ण खेलाडी र क्यान परिवारलाई बधाई दिँदै मन्त्री थापाले खेलकुदको विकासमा खेल सङ्घसंस्थाहरूको सक्रियता र योगदान अनुपम र उदाहरणीय रहेको बताए ।सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्र मिलेर नै नेपालको खेलकुदको विकासमा गति बढाउन सकिने भनाई उनको छ । नेपालको संविधान २०७२ ले खेलकुद क्षेत्रलाई तीन तह सङ्घ, प्रदेश र स्थानीयको जिम्मेबारीमा सुम्पिएको र राष्ट्रिय खेलकुद निकाय ऐन २०७७, प्रदेश खेलकुद विकास ऐन २०७७ र स्थानीय कानून निर्माण भएको जानकारी उनले गराए ।मन्त्री थापाले खेल सम्बन्धी सङ्घसंस्थाहरूको पनि स्थानीय तह, जिल्ला, प्रदेश हुँदै सङ्घीय संरचना निर्माण भएको हुँदा सबै सङ्घसंस्थाहरूले आ—आफ्नो साधारण सभा मार्फत अद्यावधिक हुनुपर्ने धारणा राखेका छन् । जसमा नेपाल क्रिकेट सङ्घको थालनी अनुकरणीय र उदाहरणीय रहेको भनाई उनको छ ।

गण्डकी प्रदेश सरकारले स्थानीय तह, जिल्ला र प्रदेश तहमा रहेका खेल सङ्घसंस्थाहरूको नियमन र सञ्चालनका लागि मापदण्ड लागू गरेको जानकारी उनले गराए । खेलाडीहरूको पहिचान, अवसर र सम्मानका लागि रेफ्री/कोच/खेलाडीका लागि वार्षिक आकस्मिक बिमा कार्यान्वयन गरिएको उनले उल्लेख गरे । ओलम्पियन ९ जना खेलाडीलाई प्रदेश सरकारले वार्षिक भत्ताको व्यवस्था गरेको भनाई उनको छ । यसका लागि खेलाडी कल्याणकारी कोष र गण्डकी प्रदेश खेलकुद पदकको स्थापना र सञ्चालनको कार्यविधि निमार्णको चरणमा रहेको उनले बताए ।

राष्ट्रिय खेलकुद परिषद र सङ्घीय सरकारका गण्डकी प्रदेश भित्र रहेका खेलकुद पूर्वाधारहरूको निर्माण र मर्मत सम्भार सँगै व्यवस्थापनमा प्रदेश सरकार र प्रदेश खेलकुद परिषदसँग समन्वय गर्नुपर्ने आवश्यकतालाई मन्त्री थापाले औंल्याएका छन् । गण्डकी प्रदेश सरकारको २०८० चैत ९ गतेको निर्णयले तनहुँको शुक्लागण्डकी नगरपालिका ८ गणपतिस्थित गाउँ फर्कोदय माध्यमिक विद्यालयको खेलमैदान र नवलपुरको कावासोतीको नवदुर्गा खेल मैदानलाई प्रादेशिक क्रिकेट खेल मैदानको रुपमा घोषणा गरेको र यसले पोखरा र चितवन भरतपुरको खेल मैदानलाई समेत टेवा पुग्ने विश्वास उनको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङले एनपीएलका लागि टियुको खेलमैदानमा स्कोर बोर्ड संचालनमा ल्याउने तयारी भएको जानकारी गराए । उनले खेलकुदलाई उद्यम, आयआर्जन सँग जोड्न परिषद लागिरहेको उल्लेख गरे । घरेलु क्रिकेटको स्ट्रक्चरलाई मजबुत बनाउन आवश्यक रहेको भनाई उनको छ ।

नेपाल क्रिकेट संघका महासचिव पारस खड्काले नेपाली क्रिकेट टोलीले १९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइएको बताए । पूर्व कप्तान समेत रहेका उनले नेपाली क्रिकेटलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् । जिल्ला स्तरबाट नै व्यवसायिक रुपमा खेलाडीलाई जोड्नुपर्ने आवश्यकता रहेको भनाई उनको छ ।

क्यानका अध्यक्ष चतुुर बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर कँडेल लगायतले बोलेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0