पोखरा । गण्डकी प्रदेशका सबै जिल्लामा पुगेर यो वर्ष नाटक मञ्चन गर्ने लक्ष्य बनाएको पोखरा थिएटरको टिम आगामी कार्तिक महिनामा स्याङ्जामा जाने निश्चित भएको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले दिएको जानकारी अनुसार स्याङ्जामा ४ दिन नाटक ‘एक चिहान’ मञ्चन हुने तय भइसकेको छ ।
नाटक स्याङ्जा बजार र वालिङमा मञ्चन हुनेछ । स्याङ्जा बजारमा कार्तिक ८ र ९ गते तथा वालिङमा कार्तिक ११ र १२ गते नाटक मञ्चन हुने भएको हो । आफ्नो जन्म जिल्लामा पहिलोपटक नाटक मञ्चन गर्न लागेकोले उत्साहित बनेको परिवर्तनले सुनाए ।
‘आफ्नै जन्मथलोमा पहिलो पटक नाटक लिएर जाने मेसो जुरेको छ । आशा छ जन्मथलोको माया अपार मिल्नेछ’ उनले भने ।
केही दिन अगाडि तनहुँको दुलेगौँडामा मञ्चन भएको यो नाटक भदौ १३ गतेबाट बुकिङ सो मार्फत पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भएको थियो । पर्वत र लमजुङ जिल्लामा समेत यो नाटक मञ्चन भइसकेको छ।
‘एक चिहान’ साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । प्रधानको उपन्यास एक चिहान कक्षा १२ को पाठ्यक्रममा समावेश छ । जसका कारण विद्यार्थीको आकर्षण यो नाटकमा बढी देखिएको छ । एक चिहान उपन्यासका माध्यमबाट प्रधानले नेपाली समाजका नारीहरूले भोग्नु परेका यातना, किसानहरू माथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिबाट मुक्तिको मार्ग निर्देश गरेका छन् । जसको अनुभुति नाटक हेर्दा पाइन्छ ।
उपन्यास एक चिहानलाई नाट्य रूपान्तरण तथा निर्देशन परिवर्तनले गरेका छन् । नाटकमा परिवर्तन, रमेशबाबु तिमल्सिना, जनक पराजुली, रोशनी रामदाम, रविन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी, रञ्जु दाहाल, धनकाजी श्रेष्ठ, सनम पुन, उत्सर्ग सुवेदी, सलिना श्रेष्ठ, सिर्जना राना, पुष्पा थापा, प्रतीक घिमिरे लगायतको अभिनय हेर्न पाइन्छ । व्यवस्थापकको जिम्मेवारी प्रकाश पराजुलीको रहेको छ।
नेपाली गरीब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थवादी नाटक हो । वि.सं. २०११ सालतिरकै निम्न वर्गीय जीवनको यथार्थलाई नाटक एक चिहानमा प्रस्तुत गरिएको छ । गरिबी, वाध्यता र विवशताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र सङ्घर्ष प्रस्तुत भएको नाटकमा विशेष गरि नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ ।
यो नाटक पोखरा थिएटरमा पहिलोपटक २०७६ सालको साउनमा मञ्चन भएको थियो । हालसम्म २ सय ५० सो मञ्चन भैसकेको नाटक ५० हजार हाराहारीका दर्शकले हेरिसकेको पोखरा थिएटरको दावी छ ।